अर्थ

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गर्‍यो

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ ।

बैंकले सन् २०२४ नोभेम्बर ६ देखि सञ्चालनमा ल्याएको यस हाटबजारले उद्यमीका उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजीकरण गर्दै आएको छ । ५०औँ हप्तामा प्रवेश गरेको अवसरमा बैंकले शुक्रबार विशेष मेला आयोजना गरेको हो ।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारासहित काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको हाटबजारमा लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका खाद्य वस्तु, कृषि उपज, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शन र बिक्री हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमीले भोग्ने बजारीकरणको समस्याबाट राहत दिने उद्देश्यले हाटबजार सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार यसले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उत्पादकलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुर्‍याएको छ ।

हाटबजारले दिगो तथा हरित अर्थतन्त्रमा योगदान दिने उद्यमहरूको बजार पहुँच विस्तार गर्नुका साथै अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको रेग्मीको भनाइ छ । उहाँले यो पहल सिम्बोलिक अभियानका रूपमा सुरु भए पनि उद्यमी र उपभोक्ताको विश्वासका कारण निरन्तर सञ्चालन हुँदै आएको र भविष्यमा अझ विस्तार गरिने विश्वास व्यक्त गर्नुभयो ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कर्जा प्रवाहमा मात्र सीमित नरही उद्यमीको सीप विकास र व्यवसायिक सशक्तीकरणमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर २०१४, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित यस बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, दक्षिण कोरिया, खाडी मुलुक तथा भारतलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *