काठमाडौं । स्थानीय लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई बजारसम्म पहुँच दिलाउने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले ५०औँ संस्करणको ग्लोबल हाटबजार आयोजना गर्न लागेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीका अनुसार हाटबजार शुक्रबार, माघ २ गते काठमाडौँको कमलादीस्थित बैंकको कार्यालय परिसरमा सञ्चालन हुनेछ।
बैंकले आफ्नै ऋण लगानीमा सञ्चालित उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्न साप्ताहिक रूपमा हाटबजार सञ्चालन गर्दै आएको छ। “उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन” भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले अर्गानिक, रैथाने तथा दिगो उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान दिइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजार पहुँच विस्तार गर्नु हाटबजारको मूल लक्ष्य रहेको बताए। उनका अनुसार विषादीरहित कृषि उपज, रैथाने बालीबाट तयार सामग्री, स्थानीय स्रोत प्रयोग गरी बनाइएका हस्तकला सामग्री, सजावटी बिरुवा लगायतका उत्पादनहरू हाटबजारमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ।
रेग्मीले भने, “यो अभियान सानो र प्रतीकात्मक भए पनि अर्गानिक तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बनेको छ। हाम्रो अर्थतन्त्रको आधार नै लघु, साना तथा मझौला उद्यम हुन्। आफ्ना ऋणीले उत्पादन गरेका वस्तुको प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो।”
निरन्तर उत्साह र सक्रिय सहभागिताका कारण ग्लोबल हाटबजार स्थानीय उद्यमीहरूका लागि आफ्ना उत्पादन प्रस्तुत गर्ने भरपर्दो प्लेटफर्मका रूपमा विकसित हुँदै गएको बैंकको भनाइ छ। बैंकले यस कार्यक्रमलाई सफल बनाउँदै आएका सम्पूर्ण उद्यमी, सहभागी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंक हाल ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ। निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यस बैंकका हाल ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले स्वदेशी बैंकिङ सेवासँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू तथा भारतलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।




