झापा। तिहार नजिकिँदै जाँदा झापामा सयपत्री फूलको माग बढ्न थालेको छ। तिहारमा लक्ष्मीपूजा, घर सजावट र दाजाभाइलाई माला लगाइने परम्परासँगै हरेक कार्यक्रममा अतिथिलाई माला लगाउने चलनले माग थपिएको हो।
विर्तामोड–७ का फूल किसान विवेक साहले दैनिक सयपत्री फूलको माग बढिरहेको बताए। उनले भिनाजु दीपक साहसँग मिलेर दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूलखेती गरिरहेका छन्। ८० हजार बिरुवा रोपेका साह हाल दैनिक करिब ३०० माला बिक्री गरिरहेका छन्। उनका अनुसार, अविरल वर्षाले करिब १० हजार माला बराबरका फूल नष्ट पारेको छ।
साहले विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई प्रतिमाला रु ५० का दरले फूल पठाइरहेका छन्। तिहार नजिकिँदै मूल्य परिवर्तन हुन सक्ने उनले बताए। उनका अनुसार, एकपटक रोपिएको सयपत्री फूल तीन पटकसम्म टिप्न सकिन्छ र पहिलो टिपाइमै करिब २० हजार माला उत्पादन हुने अनुमान छ।
यसैगरी, विर्तामोड–९ की सुष्मा पौडेलले सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन्। उनले केही फूल दसैँमा बिक्री गरे पनि तिहारका लागि राखेको करिब रु दुई लाख ५० हजार बराबरको फूल वर्षाले नष्ट गरेको बताइन्। पौडेलका अनुसार, पछिल्ला वर्षहरूमा खादाको सट्टा फूलमालाको प्रयोग बढेसँगै माग तीव्र रूपमा बढेको छ।
हाल झापाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार भइरहेको छ।



