काठमाडौं । अधिकांश बैंकहरुका कर्मचारीहरुको तलब वृद्धि भएको छ । गत वर्ष ५ बाहेकका बैंकहरुले आफ्नो कर्मचारीको तलब बढाएको देखिन्छ ।
अघिल्लो वर्षको तुलनामा बैंकहरुले २१ प्रतिशतसम्म तलब बढाएका छन् । गत वर्ष वाणिज्य बैंकहरुको औसत तलब ४.४३ प्रतिशत बढेको छ ।
अघिल्लो वर्ष बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधमा ५७ अर्ब ६५ करोड ७५ लाख २१ हजार रुपैयाँ खर्चिएका थिए । तर, गत वर्ष आइपुग्दा भने थप २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ बढेर ६० अर्ब २१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
यस्तो सुविधमा खर्चिने रकम ५ वटा बैंकको घटेको छ, बाँकी सबैले बढाएका छन् । कर्मचारीको तलब सुविधा बढाउन मामलामा हिमालयन बैंक पहिलो सूचीमा छ । बैंकले कर्मचारीको तलब २१.१४ प्रतिशत बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ८१ करोड ३८ लाख ६३ हजार रुपैयाँ खर्चिएको थियो । तर, गत वर्ष आइपुग्दा भने ३ अर्ब ४० करोड ८७ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
कर्मचारीको तलब सुविधा बढाउन माछापुच्छ्रे बैंक पनि अगाडि देखिएको छ । बैंकले एकै वर्ष यस्तो सुविधा १३.७७ प्रतिशत बढाएर २ अर्ब १६करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । जबकि, अघिल्लो वर्ष बैंकको यस्तो खर्च १ अर्ब ९० करोड १५ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले पनि १३.०९ प्रतिशत बढाएको छ । अघिल्लो वर्षमा बैंकले कर्मचारी तलब सुविधमा १ अर्ब ४८ करोड ६६ लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । तर, गत वर्ष आइपुग्दा भने यो बढेर १ अर्ब ६८ करोड १२ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, एनएमबि बैंकका कर्मचारीको तलब पनि १२.४८ प्रतिशत बढेको देखिन्छ । अघिल्लो वर्ष २ अर्ब २७ करोड ४९ लाख रुपैयाँ खर्च गरेको बैंकले गत वर्ष आइपुग्दा भने २ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ पुगेको देखिन्छ ।
यता, नबिल बैंकको कर्मचारीको तलब खर्च १०.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य ९.०५ प्रतिशत, कृषि विकास बैंकको ८.४१ प्रतिशत, सिद्धार्थ बैंकको ८.३० प्रतिशत र लक्ष्मी सनराइज बैंकको पनि ७.४३ प्रतिशत बढेको देखिन्छ । गत वर्ष बैंकहरुले क्रमशः ३ अर्ब ७० करोड ५७ लाख, ४ अर्ब १२ करोड ९२ लाख, ३ अर्ब ९४ करोड २३ लाख ४६ हजार, २ अर्ब ४८ करोड ५ लाख र ४ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खर्चिएका छन् ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको तलब ५.३५ प्रतिशत, नेपाल बैंकको ४.४५ प्रतिशत, सानिमा बैंकको ४.४३ प्रतिशत, ग्लोबल आइएमईको २.३६ प्रतिशत, नेपाल एसबिआईको १.६४ प्रतिशत र सिटिजन्सको ०.६८ प्रतिशत वृद्धि भएको देखिन्छ ।
यी बैंकहरुले गत वर्ष कर्मचारी तलब सुविधामा क्रमशः ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ, ३ अर्ब ६७ करोड ८ लाख ५९ हजार रुपैयाँ, १ अर्ब ६० करोड ५९ लाख ९० हजार, ३ अर्ब ८८ करोड ६३ लाख ७३ हजार, १ अर्ब ६७ करोड ७१ लाख ५१ हजार र १ अर्ब ७७करोड ६ लाख ८९ हजार रुपैयाँ खर्चिएका छन् ।
तर, एनआइसी एशिया बैंकसहित ५ वटाको कर्मचारी तलब खर्च घटेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा एनआइसी एशिया यस्तो खर्च १५.९१ प्रतिशत घटेर ३ अर्ब ६६ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो वर्ष बैंकले यस्तो शीर्षकमा ४ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ खर्चिएको थियो ।
यस्तै, प्रभू बैंकको पनि ४.०३ प्रतिशत घटेर ३ अर्ब ९२ करोड ७ लाख ३८ हजार, स्ट्याण्डर्ड चार्टर्डको २.५९ प्रतिशत घटेर १ अर्ब ४ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यता, कुमारी बैंकको सामान्य ०.७९ प्रतिशत घटेर ३ अर्ब ७१ करोड ६६ लाख र एभरेष्टको ०.०६ प्रतिशत घटेर १ अर्ब ७८ करोड १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।




