अर्थ

प्रभु बैंकको खुद नाफा ९६५% ले बढ्याे, अन्य सूचक पनि बलियो

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको छ। बैंकले २०७९/८० आर्थिक वर्षमा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकको नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र थियो।

बैंकको सञ्चालन आम्दानीमा झिनो होइन, दोब्बर वृद्धि भएको छ। अघिल्लो वर्ष ३ अर्ब १५ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी गत वर्ष ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन ९९ प्रतिशतले बढी हो। यही वृद्धि नै खुद नाफा उकालो लाग्नको मुख्य कारण हो।

बैंकको वितरणयोग्य मुनाफा समेत सकारात्मक भएको छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड रुपैयाँले ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यो वर्ष १ अर्ब ४ करोड रुपैयाँमा पुगेको छ। यसका आधारमा प्रतिशेयर वितरणयोग्य मुनाफा ४.४४ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यो १२.८५ रुपैयाँले ऋणात्मक थियो।

प्रति शेयर नेटवर्थ १५४.७६ रुपैयाँबाट बढेर १६२ रुपैयाँ पुगेको छ भने प्रति शेयर आम्दानी (EPS) २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ भएको छ। बैंकको सञ्चित मुनाफा (रिजर्भ) १३ अर्ब ५५ करोड रुपैयाँमा पुगेको छ।

तर, खराब कर्जामा भने सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष ४.९६ प्रतिशतमा पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *