अर्थ

दही र महीको बढ्दो माग: भोजभतेरदेखि औपचारिक कार्यक्रमसम्म लोकप्रिय

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विगत वर्षहरूमा विवाह, व्रतबन्ध र भोजभतेरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थको अत्यधिक प्रयोग हुने गरेको भए पनि अहिले यो प्रवृत्तिमा परिवर्तन आएको छ। गाउँदेखि सहरसम्म र साधारण भोजदेखि पार्टी प्यालेससम्म दही र महीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ।

कावासोतीस्थित पानस पार्टी प्यालेसका सञ्चालक गुरु पोख्रेलका अनुसार पछिल्लो केही वर्षयता भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्य जस्तै भएको छ। “पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्य जस्तै थियो। अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ,” उनले भने।

सहरबजारका पार्टी प्यालेसहरूमा पनि महीलाई विशेष पेयको रूपमा प्रस्तुत गर्न थालिएको छ। सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलका पेय राखिन्थ्यो तर अहिले ग्राहक आफैँले मही माग्ने गरेका छन्। “हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ,” उनले थपे।

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रमहरूमा पनि महीको प्रयोग बढ्न थालेको छ। देवचुली नगरपालिका–१० का राजु चापागाईँका अनुसार यस्ता कार्यक्रममा खाजाको रूपमा तयारी जुस वा चिया दिइने गरिएकामा गर्मी मौसममा मही नै पहिलो रोजाइ बन्न थालेको छ। “स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ,” उनले भने। विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल प्रदान गर्ने भएकाले यसको प्रयोग बढ्दो छ। देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ र भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुन्छ।

दही र महीको माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानहरूले यसको आपूर्तिमा ध्यान दिन थालेका छन्। गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेका अनुसार भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग बढ्दै गएको छ। “हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ। यसले किसानलाई फाइदा पुगेको छ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *