
दोधारा चाँदनी (कञ्चनपुर)। वैदेशिक रोजगारीको योजना त्यागेर व्यावसायिक कृषिमा होमिएका बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायकले प्रविधिको उच्चतम प्रयोग गरी सफलताको शिखर चुमेका छन्। १० वर्षअघि काठमाडौंमा टमाटर खेती देखेर प्रभावित भएका उनले स्वदेशमै कृषि गर्ने अठोट लिए र आज उनी आधुनिक कृषि प्रणालीका अगुवा बनेका छन्।
काठमाडौंबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका वडायकले सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर खेती सुरु गरे। तर, अपेक्षित आम्दानी नभएपछि उनी तालिम लिन भारतको पन्तनगर पुगे। दुई दिने तालिमले उनको कृषि यात्रालाई नयाँ दिशा दियो। तालिमपछि व्यावसायिक रूपमा खेतीमा लागेका वडायकले हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गरिरहेका छन्। उनले आफ्नो र भाडामा लिएको नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धान जस्ता बालीहरू उत्पादन गरिरहेका छन्। उनको लक्ष्य खेती विस्तार गरी वार्षिक रु एक करोडसम्म आम्दानी पुर्याउने रहेको छ।
आधुनिक कृषि उपकरणको प्रयोगलाई प्राथमिकता दिएका वडायकले हालसम्म खेतीबाट प्राप्त आम्दानीबाट रु एक करोडभन्दा बढी मूल्यका कृषियन्त्रहरू जोडिसकेका छन्। उनले गत वर्ष मात्रै रु १० लाखमा ड्रोन खरिद गरी खेतीमा प्रयोग गर्न थालेका छन्। ड्रोनको प्रयोगबाट लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको उनको अनुभव छ।
भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका वडायकले ड्रोनले मानिसले भन्दा धेरै छिटो र प्रभावकारी रूपमा बीउबिजन र विषादी छर्कने गरेको बताए। ड्रोनको प्रयोगले विषादी छर्किंदा किसानको स्वास्थ्यमा समेत नकारात्मक असर नपर्ने उनको भनाइ छ। थोरै लागतमा धेरै काम गर्न सकिने ड्रोन प्रविधि उनको कृषि प्रणालीको महत्वपूर्ण हिस्सा बनेको छ।
खेतीमा परिवारका सदस्यहरूको सहयोग पाएका वडायकले सिजनमा ३० देखि ४० जनालाई रोजगारीसमेत दिने गरेका छन्। परम्परागत किसानले एक बिघामा रु दुईदेखि तीन लाखसम्म उत्पादन गर्ने गरेकामा उनले प्राविधिक ज्ञान र उपकरणको प्रयोगले एक बिघामा करिब रु १४ लाखसम्म उत्पादन गर्ने लक्ष्य राखेका छन्।
गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रूपमा सम्मानित भएका वडायकले भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानको उपाधि पनि हात पारिसकेका छन्। अब खेतीलाई थप सहज बनाउन मोबाइल एप लन्च गर्ने तयारीमा रहेका उनले उक्त एपबाट मल हाल्ने समय र रोगबाट बच्ने उपायहरूबारे जानकारी प्राप्त गर्न सकिने बताए।
पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। गोरु र राँगाको ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलर तथा बाली काट्न र पिस्न रिपर, बुस कटर, कम्बाइन हार्भेस्टर जस्ता आधुनिक उपकरणको प्रयोग बढ्दो छ। यान्त्रिकीकरणले खेतबारी खनजोतमा सहजता ल्याएपछि किसानहरू यसप्रति आकर्षित भएका छन्।