अर्थ

कोशीमा पहिलो लगानी सम्मेलन : ७१ परियोजना सार्वजनिक, १ खर्ब ७१ अर्ब भित्र्याउने योजना

काठमाडौं । कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलनका सबै तयारी पूरा गरेको छ। वैशाख १८ र १९ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा ७१ वटा परियोजना प्रस्तुत गरिनेछ।

कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार, यी परियोजनाहरूबाट १ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदेश सरकारले विभिन्न क्षेत्रमा लगानी जुटाउन विस्तृत योजना बनाएको छ। कृषि क्षेत्रमा ४७० करोड, ऊर्जा क्षेत्रमा २७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार क्षेत्रमा ३१ अर्ब १ करोड, सूचना प्रविधि क्षेत्रमा ४७ करोड र पर्यटन क्षेत्रमा ३५ अर्ब ९७ करोड लगानी भित्र्याउने लक्ष्य तय गरिएको छ।

प्रदेशले लोकल उत्पादन जस्तै कोदोको रक्सी उद्योगदेखि होटल निर्माण र पोडवे सञ्चालनजस्ता परियोजना अघि सारेको छ। विराटनगर, मोरङ, सुनसरी, उदयपुर, झापा, इलाम, धनकुटा, सोलुखुम्बु र खोटाङ लगायतका जिल्लामा विभिन्न विकास योजनाहरू प्रस्तावित छन्।

विशेष गरी विराटनगरमा मल्टिपर्पोज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल र कोशी पोडवे पूर्वाधार निर्माणजस्ता ठूला आयोजना प्रस्तुत गरिनेछ। झापामा बायो फर्टिलाइजर उद्योग, इलाममा केबलकार र मनोरेलजस्ता पर्यटकीय पूर्वाधार योजना अघि सारिएको छ। सोलुखुम्बु र खोटाङमा समेत केबलकार र हाइड्रोपावर परियोजनाहरू प्रस्ताव गरिएका छन्।

लगानी सम्मेलन सफल बनाउन प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ भने सचिवालय व्यवस्थापनका लागि ४० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *