काठमाडौं । वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीमाथि सर्वोच्च अदालतले गरेको भ्रष्टाचारसम्बन्धी फैसला कार्यान्वयन गर्दै सरकारले उनको नगद, सेयर र जग्गा जफत गरेको छ।
२०६८ भदौ २१ गतेको फैसलाअनुसार गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले चतुर्वेदी र उनका परिवारका बैंक खाताहरूमा रहेको नगद, विभिन्न कम्पनीका सेयर, र काठमाडौँस्थित जग्गा सरकारको नाममा नामसारी गरेको हो।
सरकारले उनको विभिन्न बैंक खाताबाट जफत गरिएको करिब १२ लाख रुपैयाँ नगद,नेपाल मेडिकल कलेज, शिखर पेन्ट्स र ओम हस्पिटलमा रहेका लाखौं रुपैयाँ बराबरका सेयर, कोटेश्वरस्थित दुई ठाउँका जमिन, जसमा चतुर्वेदीको नाममा पर्ने हिस्सासमेत सरकारले कब्जामा लिएको छ । फैसलाअनुसार चतुर्वेदीलाई १ करोड ३९ लाख जरिवाना र डेढ वर्ष कैद सजाय सुनाइएको थियो। उनले ११ महिना ६ दिन जेल बसेर १ करोड ११ लाख रुपैयाँ जरिवाना तिरेका थिए।
चतुर्वेदी २०७८ असोज २१ गते काठमाडौँस्थित आफ्नै निर्माणाधीन घरअगाडि मृत अवस्थामा फेला परेका थिए।




