काठमाडौं । नेपाल उद्योग परिसंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय स्वागत योग्य भएको बताएको छ । सरकारको निर्णयले स्वदेशी उत्पादन प्रवर्धन गर्न निकै सहयोग पुग्ने परिसंघले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका, २०८१’ पारित गरेकाले यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको परिसंघले बताएको छ ।
परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग २०७८ असार १० गते साँझेदारीपत्रमा हस्ताक्षर गरी मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन जारी राखेको छ ।
स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको मेक इन नेपाल कार्यान्वयनमा सरकारले बलियो साथ एवम् साझेदारी प्रस्तुत गरेको परिसंघले प्रष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला २०७७ फागुनबाट सो अभियानको औपचारिक सुरुवात भएको थियो । परिसंघले सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न आग्रह गर्दै आइरहेको छ ।




