काठमाडौं । सरकार कात्तिकभन्दा मंसिरमा घरजग्गा कारोबार बढ्यो भन्छ । बजारमा भने घरजग्गाको मूल्य बढेको छैन । लिखित, अंशबण्डालगायत विभिन्न काम मालपोत कार्यालयबाट हुन्छ । यो सबै काम गर्न मालपोत नै जानुपर्ने अवस्था छ । सरकार भन्छ, ‘घरजग्गा कारोबार बढ्यो ।’ तर, कारोबार बढ्यो भने मूल्य किन झनझन् घटिरहेको छ ।
बाबुको सम्पत्ति भागबण्डा लगाउनुपरेमा मालपोत नै धाउनुपर्छ । चार सन्ततिको नाममा त्यो सम्पत्ति पास गरिदिँदा मालपोतमा कारोबार संख्या बढ्न पुगेको हो । तीन वर्षअघि करोडमा किनेको घडेरी अहिले लाखमा बेच्छु भन्दा समेत किन्ने कोही भेटिँदैन । मानिसहरूले आपत परेपछि करोडको माल लाखमा दिएका छन् । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न, व्यापार व्यवसाय चलाउन वा घरायसी प्रयोजनका लागि पैसाको खाँचो परेपछि मानिसहरू करोड मूल्य पर्ने घरजग्गासमेत लाखमा दिन बाध्य भएका छन् । बजारमा घरजग्गाको मूल्य बढेको छैन । मालपोतमा अंशबण्ड, नामसारी गर्नेको संख्या बढेको हो ।
घरजग्गाको मूल्यमा अझै गिरावट आउने भएपछि मानिसहरूले सस्तोमा बेचिरहेका छन् । अंशबण्डा, नामसारी वा सस्तोमा घरजग्गा बिक्रीवितरण गर्दासमेत राज्यलाई राजस्व बुझाउनुपर्छ । यसले राज्यलाई भने फाइदा भएको छ । घरजग्गाको कारोबार गर्ने धेरै दलालहरू सम्पर्कविहीन भइसकेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा तीन वर्षअघि आनाको करोडसम्म थियो जग्गाको मूल्य । तर, केही वर्षयता जग्गाको मूल्य नै छैन । घरजग्गा भ्यालसिन गर्न खोलेका कम्पनीहरूले पनि भ्यालसिन गर्नसकेका छैनन् ।
बैंक तथा वित्तीय संस्था त टाट पल्टिने अवस्थामा पुगिहाल्यो । सहकारी, फाइनान्स, लद्युवित्त त घरजग्गाकै कारण भागेको पनि छर्लंग छ । चार दशकअघि ठाउँअनुसार आनाको २० हजारदेखि लाखमा जग्गा किनियो । लाखमा किन्ने एक वर्षपछि तीन लाखमा बेच्यो । तीन लाखमा किन्नेले दुई वर्षपछि दश लाखमा बेच्यो । दश लाखमा किन्नेले तीन वर्षपछि २५ लाखमा बेच्यो । २५ लाखमा किन्नेले चार वर्षपछि ६० लाखमा बेच्यो । ६० लाखमा किन्नेले भने पाँच वर्षपछि करोडमा बेच्यो । करोडमा किन्नेले डेढ करोडमा बेच्न खोजेको थियो । तर, त्यो व्यक्ति चुर्लुम्मै डुबेको छ । अहिले घरजग्गा चार दशकअघिकै मूल्यमा फर्किएको छ ।
घरजग्गाको मूल्य सरकारले बढाएको होइन । दलाली, बिचौलियाले मूल्य बढाएका थिए । त्योसँगै बैंक, सहकारी, लद्युवित्तले बढी ब्याज र घुसको प्रलोभनमा आँखा चिम्लेर कर्जा प्रवाह गर्दा पनि मूल्य बढेको थियो । ८०–८५ वर्षअघि सय रुपैयाँमा किनेको जग्गा तीन वर्षअघि बेच्दा पाँच करोडसम्म आउन्थ्यो भनेर बुढाबूढीहरू भन्छन् । छिट्टै नाफा कमाउन प्रलोभनमा बैंक तथा वित्तीय संस्था, विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूले घरजग्गामै लगानी गरे । सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरूको समेत यसमै लगानी छ । केही वर्षयता घरजग्गाm कारोबारमा मन्दी छाएको छ ।
भूमिसुधार मन्त्रालयले जग्गा व्यापार गर्ने होइन, उब्जनी गर्ने हो भनेर सोचेन ।
जति जग्गा किनबेच भयो, त्यति नै राज्यलाई राजस्व आउने भएपछि खेतीयोग्य जमिनसमेत खण्डीकरण गर्न दिइयो । अहिले मुलुकमा खाद्यान्न संकट निम्तिने संकेतसमेत देखापरेको छ । एउटा घरमा ठाउँअनुसार जग्गा र घर गरी करोडदेखि अर्बसम्म लगानी गरिएको छ । त्योबाट राज्यले सुको कर पाएको छैन । घर भाडामा लगाएर महिनामै लाखदेखि करोड उठाइन्छ । त्यसको पनि राज्यलाई राजस्व तिरिँदैन । सरकारले पनि घरलाई घरेलु वा कम्पनीमा लैजाने निर्णय गरेको छैन ।
घरको ६÷६ महिनामा प्राधिकरण चेकजाँच गर्नुपर्ने, पञ्जीकरण गर्नुपर्ने र यसो नगर्ने घरलाई घर सम्पन्नताको प्रमाणपत्र नदिने तथा राज्यबाट उपलब्ध हुने सेवासुविधा कटौती गरिदिने निर्णय सरकार गर्दैन । अहिले घरहरू धमाधम खाली हुन थालेका छन् । टेन्सनका कारण घरधनीहरूलाई निद्रा लाग्दैन । एकातिर बैंकबाट लिएको ऋण, अर्कोतिर घरको कोठा खाली । बैंकको ऋण तिर्न घर बेच्छुभन्दा समेत किन्ने कोही छैन । फेरि बेच्दा लगानी गरेको मूल्यसमेत नउठ्न अवस्था छ । घरको मूल्य दलालहरूले बढाएका थिए । जग्गा खण्डीकरण गर्नुका साथै यसको मूल्य उच्च बिन्दुमा पुर्याउनुमा दलालहरूकै हात थियो । सरकारले निर्धारण गरेको मूल्यअनुसार आनाको एक लाख भएको जग्गा दलालहरूले ६० लाखमा बेचे । दलालहरूकै कारण लाखौं सर्वसाधारण डुबेका छन् ।
घरजग्गाकै कारण मुलुकको अर्थतन्त्र डामाडोल हुन पुग्यो । बजारमा पूरै मन्दी भयो । र, अहिले पनि कायमै छ । घरजग्गा दलालीहरूले सयौंलाई डुबाए, अनि आफू धनी बने । सेयरमा पनि त्यही भएको छ । बैंकले सय रुपैयााँ कित्तामा सेयर निकालेको हो भनेर सरकार र सर्वसाधारण दुवैलाई थाहा छ । तर, दलालहरूले त्यो सेयर ६ हजारसम्म पुर्याए । महँगोमा सेयर किन्ने ६० लाख जनता आज पनि डुबेका छन् । दुई वर्षअघि झन्डै २३ अर्ब सेयर कारोबार भएको थियो, त्यो पनि एकै दिन । केही महिनापछि कारोबार घट्दै ४८ करोडसम्म पुग्यो ।
अहिले एकथरी भन्छन्, ‘चार हजारमा किनेको सेयर सय रुपैयाँमा बिक्दैन ।’ सेयर लगानीकर्ता हामी डुब्यौं भन्छन् । तर, केही दिनदेखि दलालहरूले सेयरको मूल्य बढाइरहेका छन् । फेरि सर्वसाधारणलाई फसाउनतिर उनीहरू लागिपरेका छन् । आफ्नो सेयरको मूल्य बढाएर दलालीहरूले धमाधम सेयर बेचिरहेका छन् ।गत वर्षको पुस ११ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । त्यतिखेर सेयर कित्ताको ३२ सयबाट १७ सयमा झरेको थियो । प्रचण्ड सरकारमा अर्थमन्त्री एमालेका विष्णु पौडेल भए ।
उनी अर्थमन्त्री हुनासाथ १७ सय कित्ताको सेयर २४ सय पुग्यो । पौडेल हट्नेबित्तिकै २४ सयको सेयर १८ सयमा झर्यो । केही दिनदेखि सेयरको मूल्य बढेको छ । यसमा पनि बेच्ने उक्सिन्छन् भने किन्ने चुर्लुम्मै डुब्नेछन् । घरजग्गा र सेयरको मूल्य बढ्ने आधार नै छैन । किनकि नेपालमा उद्योग, कारखाना छैन । मानिससँग लगानी गर्न पैसा छैन ।
रोजगारी पनि छैन । ९९ प्रतिशत मानिसको घरजग्गा र सेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ ।
अर्थमन्त्री डा.प्रकाशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कुर्सी जोगाउन घरजग्गा र सेयर कारोबार बढ्यो भन्दै जनतालाई भ्रममा पारिरहेका छन् । जनताले तिरेको करबाट सरकारी खर्च धानेन, आम्दानीभन्दा बढी खर्च भयो भनेर महालेखा परीक्षक भन्छ । एक नेपालीको टाउकोमा लाख पुग्न लागेको छ, विदेशी ऋण । विदेशी ऋणको साँबाब्याज तिर्न सरकारसँग आम्दानी छैन । सरकार एकसँग ऋण लिन्छ अनि अर्कोको साँबाब्याज तिर्छ । त्यसकारण अब विदेशी ऋण झनझन् बढ्ने छ ।




