समाचार

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन ।

स्थानीयवासी सिकिन्दर सदा मुसहरले सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालय जाने गरेका जानकारी दिएका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ चार पुुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोड्न नसकेको बताए ।

स्थानीयवासी तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइन्छ भन्दै गालीगलोजसमेत गर्ने गरेको बताए ।

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने कारण कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *