समाचार

जडीबुटीका बिरुवा रोप्न स्थानीयवासी उत्सुक

भोजपुर । नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयवासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो ।

यसैबीच हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका–१२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, लालीगुँरास, मसलालगायत दुई हजार बढी बिरुवा रोपिएको छ ।

यो अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिएका छन् । उनले भने, “वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत हामीले जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातारवरणको संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।

सेनाले थालेको अभियान सराहनीय रहेको र वनकोे संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले भने, “सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नाङ्गा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौँ ।”

रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षरोपन गर्ने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । वृक्षरोपनका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको त्यहाँका प्रमुख विष्णुलाल घिमिरले जानकारी दिएका छन् । उनले भने, “हामीले नाङ्गाडाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौँ । नेपाली सेनाले पनि अभियान नै सञ्चालन गरेर वृक्षरोपनका काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षरोपनका गतिविधि बढेको छ । विषेश गरेर स्थानीयहरुमा फलफूल तथा जडीबुटीका बिरुवा रोपनमा चासो देखिएको छ ।”

बर र पिपल संरक्षण
वन कार्यालयले बर, पिपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका बर र पिपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *