अर्थ

पशुपति क्षेत्रको वाग्मती किनारमा विशेष सफाइ

काठमाडौँ । पशुपति क्षेत्रथित भष्मेश्वर घाटमुनिको वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३६औँ हप्तामा भष्मेश्वर घाट क्षेत्रमा ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ गरिएको हो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, नायक शिव श्रेष्ठ, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सक्रियतामा यस क्षेत्रमा सफाइ गरिएको हो ।

भष्मेश्वरघाटबाट हंसमण्डपसम्मको क्षेत्रमा पनि आज विशेष सफाइ गरिएको अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा.माला खरेलले राससलाई जानकारी दिएकी छिन् । पशुपति क्षेत्रको धेरै स्थानमा फोहर भएकाले कोषले निरन्तर रुपमा सफाइ गर्ने जानकारी गराएको छ ।

भदौ २५ गते पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएपछि दर्शनार्थीको भीडसमेत बढ्न थालेकाले यस क्षेत्रको विशेष सफाइ गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण साढे चार महिनासम्म पशुपतिनाथ मूल मन्दिर बन्द गरिँदा पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइसमेत हुन नसकेकाले विशेष सफाइ अभियान सुरु गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *