जलश्रोत/उर्जा

दोर्दीखोला जलविद्युत आयोजना : असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले भने, “आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ ।” दोस्रो हप्तासम्म बिजुली उत्पादन परीक्षण गरिनेछ । गत असारमा नै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्याएको थियो ।

ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत गृह, सुरुङ मार्ग, तीन हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको जनाइएको छ ।

बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा पावरहाउस रहेको छ । नेपाल विद्युत प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता विसं २०६९ असार १ गते भइसकेको आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *