काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३ हजार २०० विन्दु नजिक पुगेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव २१ प्रतिशत बढेर ३ हजार १९८ दशमलव ६० विन्दुमा पुगेको हो । अंकको हिसाबमा अघिल्लो कारोबार दिनभन्दा ३८ दशमलव २८ अंकले नेप्से परिसूचक बढेको हो ।
३ हजार १७२ दशमलव ३० विन्दुदेखि खुलेको बुधवारको बजार ३ हजार २२० दशमलव १३ विन्दुसम्म पुगेको थियो भने ३ हजार १५३ दशमलव ५९ विन्दुसम्म झरेको थियो । बुधवार नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।
यस दिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ प्रतिशत अर्थात् ४ दशमलव ८३ अंक बढेर ५९८ दशमलव ११ विन्दुमा पुगेको छ ।
योदिन रू. २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२८ ओटा कम्पनीको १ लाख ८८ हजार ५५४ पटकको व्यापारमा भएको हो ।
यस दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेशनल हाइड्रोपावरले ओगटेको छ । नेशनल हाइड्रोपावरको रू. ७८ करोड ८७ लाख ३ हजार बराबरको १५ लाख ४२ हजार २०० कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयरमूल्य पनि यस नि अघिल्लो दिनभन्दा प्रतिकित्ता रू. १५ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ४९८ कायम भएको छ ।
रू. ४९२ दशमलव ३० देखि खुला भएको नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य बुधवार न्यूनतम रू. ४९० देखि अधिकतम रू. ५३० दशमलव ९० सम्म पुगेको थियो । सोमवार र मंगलवार लगातार सर्किट लेभलमा मूल्य बढेको कम्पनीको बुधवार नाफा बुक गर्दा मूल्यमा उतारचढाब देखिएको हो ।
यस दिन विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । व्यापारिक र म्युचुअल फण्ड वाहेकका सबै परिसूचक यो दिन बढ्दा विकास बैंकको ५ दशमलव ५५ प्रतिशत र वित्त समूहको ४ दशमलव ९७ प्रतिशत परिसूचक बढेको हो । त्यस्तै उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, लगानीको १ दशमलव ४२ प्रतिशत, जलविद्युतको १ दशमलव ३५ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव १७ प्रतिशतले बढेको छ ।
त्यसैगरी निर्जीवन बीमाको शून्य दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव १६ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ३ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत परिसूचक बढेको छ । यस दिन म्युचुअल फण्डको १ दशमलव ३९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ४ प्रतिशत परिसूचक घटेको छ ।
बुधवार नौ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्दा चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । शिवम् सिमेण्ट्स, अरुणभ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ ।
त्यस्तै आँखुखोला जलविद्युतको ९ दशमलव ९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९ दशमलव ९६ प्रतिशत, गुडवील फाइनान्सको ९ दशमलव ४० प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव १३ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको शेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।




