काठमाडौं । अर्थ मन्त्रालयले यस वर्ष कुल बजेटको ९१.१९ प्रतिशत खर्च हुने जनाएको छ ।
मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । तर, मंगलबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले यस वर्ष कुल बजेटको ९१.१९ प्रतिशत अर्थात् १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ मात्रै खर्च हुने जनाएको छ ।
त्यसमध्ये चालूतर्फ ९६.४० प्रतिशत, पुँजीगततर्फ ८०.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत खर्च हुनेछ ।
यो बजेटमा निर्वाचन र कोभिड खोपमा हुने खर्चसमेत जोडिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यस्तै, पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुनेसमेत उनले बताए ।




