काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्रबहादुर कार्कीको नाम सिफारिस भएको छ । हाल उनी सोही मन्त्रालयको निमित्त सचिवमा कार्यरत छन् ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् आगामी बैठकले डा. कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।
निजामती सेवा ऐनअनुसार, कार्यसम्पदान मूल्यांकनका आधारमा (८० प्रतिशत) हुने बढुवामा लगातार चारपटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।
यसअघि पनि कार्कीको नाम सचिवका लागि सिफारिस भएको थियो । तर, उनको बढुवा भने भएको थिएन । यसअघिका सचिव राजेन्द्र भारीको कात्तिक १ गते सेवा अवधि सकिएपछि मन्त्रालयमा सचिव पद रिक्त छ ।




