अर्थ

ईश्वर पोखरेलका सम्धीलाई बैंक सञ्चालक समितिको सपथ

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा सपथ लिएका छन् । सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले कोइरालालाई सपथ गराएका हुन् । सञ्चालक समितिको अध्यक्ष बनाउने गरी उनलाई सदस्य नियुक्त गरिएको थियो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ ७ गते सदस्य नियुक्त गरेपछि चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि सपथ नलिएका कोइरालाले सुटुक्क सपथ लिएका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैठकको सञ्चालक समितिको सदस्यमध्येबाट अध्यक्ष नियुक्त हुने व्यवस्था छ ।

उनलाई सञ्चालकहरुबाट अध्यक्ष बनाउने तयारी छ । अहिले बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा.डा. माधवप्रसाद दाहाल सदस्य छन् ।

सञ्चालक समितिको छिट्टै बस्ने बैठकले कोइरालालाई अध्यक्ष नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ । पोखरेलका सम्धी कोइराला पटक पटक राजनीतिक नियुक्ति लिने भाग्यमानी हुन् । उनी अनियमितता र भ्रष्टाचारको आरोपमा मुछिने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *