काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र आपूर्ति सचिव बैकुण्ठ अर्यालको चाकडीमा ५ वटा गाडी बुझाएका छन् । चाप्लुसी गर्न करोडौंको गाडी दिएको पाइएको छ । निगमले विभिन्न आर्थिक वर्षमा खरिद गरेका करोडौँका महँगा गाडीहरु मन्त्री भट्ट र उनका पिएहरुलाई उपलब्ध गराएर कार्यकारी निर्देशक पौडेलले चाकडीको नमुना प्रस्तुत गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार निगमले उपलब्ध गराएको बा १ ञ ३०९१ नम्बरको टोयोटा र्याभ फोर गाडी मन्त्री भट्टले चढिरहेका छन् । निगमले नै मन्त्री भट्टलाई ईन्धन समेत उपलब्ध गराउँदै आएको छ । यो गाडीलाई भट्टले नम्बर परिवर्तन गरी बा २ झ ३०९१ बनाएका छन् ।
यो गाडीलाई मन्त्रीको नम्बरप्लेट हाली मन्त्रालयमा स्ट्यान्डबाई राखिएको छ । जापानस्थित टोयोटा कम्पनीले उत्पादन गरेको यो गाडीको मुल्य एक करोड २५ लाख पर्छ । त्यस्तै बा १ ञ ३५३६ नम्बरको टाटा स्टोर्म गाडी भने मन्त्री भट्टका पिए लगायत आफन्त र नातागोता चढेर रमाइलो गरिरहेका छन् । त्यस्तै अर्को टाटा स्ट्रोम गाडी मन्त्री धनगढी जाँदा स्टेनबाइ राखिएको छ ।
बा १ ञ १८४८ नम्बरको सभरलेट गाडी पनि मन्त्री भट्टकै सचिवालयले प्रयोग भइरहेको छ । यसअघि निगमले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएको बा १ ञ २४०५ नम्बरको रेनल्ड क्वीड नामक गाडी पनि मन्त्रालयतिरै लागिएको छ । केही महिनाअघि मात्रै खरिद गरिएको यो गाडीलाई पनि मन्त्रालयमै भट्टका आसेपासे ओसार पोसारका लागि प्रयोग गरिँदै आएको छ ।
बा १ ञ २१३७ र २१३५ नम्बरको टाटा स्टोर्म गाडी पनि मन्त्रालयकै अधिकारीहरुले प्रयोग गर्दै आएका छन् । यी गाडीहरुमा लाग्ने चालक र इन्धन समेत निगमले नै उपलब्ध गराउँदै आएको छ । सवारी साधनको नाममा कर्मचारीले ब्रम्हलुट मच्चाउन थालेपछि खर्च न्युनिकरणका लागि भन्दै सरकारले २०७२ सालमा सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका जारी गरेको थियो ।
नेपाल सरकारले आफैं सवारीसाधन चलाउन चाहने राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका पदाधिकारीलाई सवारी साधनसहित इन्धन, मर्मत र सवारी चालक खर्च एकमुष्ट उपलब्ध गराउँदै आएका थियो । तर, आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने मन्त्री भट्ट र सचिव अर्याललाई खुसी पार्न निगमको करोडौंको गाडी, मर्मत खर्च र निशुल्क इन्धन समेत उपलब्ध गराउँदै आएका छन् ।




