नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।
प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत्मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताए । कार्यालयले असार महिनामा मात्रै विद्युत् महसुलवापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ ।
गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताए । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताए।
गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उनले बताए। हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३६३ ग्राहकको विद्युत् लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत् महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजारभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । विद्युत् लाइन काटिएका ग्राहकबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उनले बताए ।
आर्थिक वर्ष २०७६/७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत् चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।




