आजको सुर्योदयसँगै नेपाली कांग्रेसले सायद फेरि आफ्नै इतिहास सम्झिनेछ । त्यसैले आज कांग्रेसी राजनीतिका केही ‘तारा’हरू सम्झिन मन लाग्यो ।
नेपालको राजनीतिमा एउटा यस्तो समवयी पुस्ता थियो, जसले प्रजातन्त्र स्थापनाका लागि अतुलनीय योगदान दियो । उनीहरूका बलिदानले लोकतन्त्रको जग निर्माण गर्यो । तर दुःखद् कुरा, यही पुस्ता गुटबन्दीको विषले छिन्नभिन्न बनाइयो । कोही संघर्षको दीर्घ बोझले थाकेर थलिए, कोही आफ्नै सहयात्रीको कोपभाजनमा परे, कोही कुनै एक नेताको असीम प्रेम र अर्काको असीम घृणाको शिकार बने । परिणामतः उनीहरू असमयमै असान्दर्भिक घोषित गरिए । यो दृश्य हृदयविदारक छ, किनकि उनीहरूले देखेको सपना आज गुटगत स्वार्थको भुमरीमा हराइरहेको छ ।
आज यदि यो पुस्ताका जीवित सदस्यहरूको सूची हेर्ने हो भने, संघर्षका दिनमा देखिएको आपसी सद्भाव उनीहरूकै बीचमा पनि हराइसकेको देखिन्छ । दुर्भाग्यवश, दिवंगत नेताहरू जीवनकालमै गुटगत विभाजनको सिकार बने, र आज उनका उत्तराधिकारीहरूले ती सम्बन्धलाई अझै निर्ममतापूर्वक बलिवेदीमा चढाइरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना पुराना सहयोद्धाहरूको माझ बिरलै देखिन्छन् । उनीहरूको योगदानप्रति सम्मान र आत्मीयताको अभावले पार्टीको ऐतिहासिक स्मृतिमाथि नै प्रश्न खडा गरेको छ । गुटगत चश्माबाट इतिहास हेर्ने प्रवृत्तिले केवल व्यक्तिहरूलाई होइन, कांग्रेसको लोकतान्त्रिक विरासतलाई नै जोखिममा पारेको छ । यसको ज्वलन्त उदाहरण हो— २०२५ मा शेखर कोइराला पक्षका १८ जना नेतामाथि गरिएको अनुशासनिक कारबाही, जसले पार्टीभित्रको विभाजनलाई संस्थागत रूपमै गहिरो बनायो ।
शैलजा आचार्य, प्रदीप गिरी, चक्र बास्तोला जस्ता नेताहरूले प्रवासबाट आन्दोलनको आगो जोगाए । सुशील कोइराला जेल, निर्वासन र संक्रमणकालीन नेतृत्वको एउटा दुर्लभ संयोजन थिए । उनको सादगी र नैतिकता आज झन् स्मरणीय लाग्छ, किनकि आजको कांग्रेसमा त्यो मूल्य गुटगत स्वार्थमा साटिएको छ । भूविक्रम नेम्बाङ, सीके प्रसाई, प्रेमराज आङ्दम्बे, सूर्यमान गुरुङ, केबी गुरुङ, केबी भट्टराईजस्ता प्रतिभाहरू गुटबन्दीका कारण या त सीमित गरिए, या पूर्णतः पाखा लगाइए ।
मेचीदेखि सुदूरपश्चिमसम्म फैलिएको यो कथामा साझा सूत्र एउटै छ— गुटबन्दी । सीके प्रसाईजस्तो विद्वान् र संगठक आफ्नै पार्टीभित्र स्पष्ट पहिचान नपाएर ओझेलमा परे । केबी गुरुङ र केबी भट्टराईजस्ता प्रभावशाली नेताहरू सक्रिय रहँदै ‘अदृश्य’ बनाइए । इलामजस्तो कांग्रेसको बलियो आधारभूमिमा आज उम्मेदवार खोज्नुपरेको अवस्था यही राजनीतिक रोगको परिणाम हो ।
नेपाल विद्यार्थी संघको प्रारम्भिक पुस्ताले खेलेको ऐतिहासिक भूमिका पनि क्रमशः विस्मृत बनाइयो । मार्शल जुलुम शाक्यदेखि दमननाथ ढुंगानासम्म, ओमकार श्रेष्ठदेखि मनमोहन भट्टराईसम्म— जेल, यातना र संघर्षले खारिएका नेताहरू गुटगत प्राथमिकताका कारण छायामा पारिए । दमन ढुंगानाजस्तो क्षमतावान् सभामुखलाई समेत नेतृत्वले न्याय दिन सकेन ।
सुदूरपश्चिममा खुमबहादुर खड्कामाथि गरिएको राजनीतिक कारबाही गुटबन्दीको सबैभन्दा निर्मम उदाहरण हो । संसद र कानुनलाई नै हतियार बनाएर एक प्रभावशाली नेतालाई हटाइयो । देउवाको उदयपछि सुदूरपश्चिमका कयौं जुझारू पात्रहरू योजनाबद्ध रूपमा राजनीतिक परिदृश्यबाट मेटाइए ।
महिला नेतृहरूको योगदान पनि उस्तै पीडादायी रूपमा ओझेलमा परेको छ । नेविसंघबाट उदाएका दर्जनौं महिलाहरू आज इतिहासका फुटनोटमा सीमित छन् ।
आज गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूले सुधारको प्रयास गरिरहेका छन् । तर गुटबन्दीको संरचना यति मजबुत छ कि परिवर्तनका हरेक प्रयास दबाइने जोखिममा छन् । महाधिवेशन ढिलाइ, शक्ति केन्द्रीकरण र निर्णयमा अपारदर्शिताले कांग्रेस मात्र होइन, समग्र नेपाली लोकतन्त्रलाई कमजोर बनाइरहेको छ ।
यहाँ उल्लेखित नामहरू केवल व्यक्तिहरू होइनन्— यी नेपाली प्रजातान्त्रिक आन्दोलनका स्तम्भहरू हुन् । उनीहरूलाई बिर्सनु भनेको इतिहाससँग विश्वासघात गर्नु हो । यो लेख एउटा सानो अभिलेख हो— गुटबन्दीको यो विषाक्त खेल उजागर गर्न र नयाँ पुस्तालाई सजग गराउनका लागि ।
जहाँ म रहन्छु:
श्याम–फुलेश्वरी शिवालय, सुन्दरी आश्रम
धरमपुर, सप्तरी




