नेपालमा जेनजी आन्दोलनले एकैचोटि देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा नकरात्मक प्रभाव पार्दै आएको छ। आन्दोलनले राजनीतिक अस्थिरता मात्र बढाएको छैन, यसले नेपाली समाजमा युवा चेतनामा पनि ठूलो उतारचढाव ल्याएको छ। मध्यमवर्गीय परिवारका छोराछोरी सडकमा उत्रिएर राजनीतिक हतियार बोकेका दृश्यले, आम जनमानसमा चिन्ता र आशंका दुवै सिर्जना गरेको छ।
जेनजी आन्दोलनको प्रत्यक्ष प्रभाव आर्थिक क्षेत्रमा पनि देखिन थालेको छ। कलकारखाना, उद्योगधन्दा र व्यापार व्यवसायमा ठूलो क्षति पुगेको छ। यसले बेरोजगारी दर बढाउने मात्र नभई युवा वर्गमा अस्थिरता र भ्रमको वातावरण सिर्जना गरेको छ। रोजगार पाउन मुश्किल भइरहेको अवस्थामा, धेरै युवा चिन्तनशील नभई उत्तेजित र आवेगपूर्ण निर्णयमा उत्रिरहेका छन्।
राजनीतिक विश्लेषकहरु भन्छन् कि आन्दोलनमा सहभागी युवा समूहहरू वर्तमान सरकारविरुद्ध मात्र होइन, सामाजिक संरचना ध्वस्त पार्ने र मान्छे मार्ने धम्की सामाजिक सञ्जालमार्फत फैलाइरहेका छन्। तर, उनीहरूले ग्रामीण विकास, कृषि क्रान्ति वा दीर्घकालीन राष्ट्रिय हितका विषयमा प्रष्ट योजना पेश गरेका छैनन्।
साथै, जेनजी आन्दोलनले दलहरूबीचको राजनीतिक एजेण्डा मात्र देखाएको छ। एजेण्डा उही कुर्सीको लडाई र पदको विवादमा सीमित छ। यस क्रममा उनीहरू विभिन्न राजनीतिक दल – माओवादी, एमाले, राप्रपा, रास्वपा, तथा केही नेताहरूको संरक्षणमा आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजिरहेका छन्। परिणामस्वरूप, आम जनता अझै बढी त्रसित र भ्रमित बनेको छ।
विशेषतः युवा वर्गमा फैलिएको स्वार्थ र षडयन्त्रको भावना ठूलो चिन्ताको विषय बनेको छ। सडकमा लाखौँ युवालाई आन्दोलनमा उत्राउने योजना र उत्तेजना फैलाउने प्रयासले समाजमा असुरक्षा र डरको वातावरण सिर्जना गरेको छ। सोही कारण आगामी फाल्गुन २१ गतेलाई तोकिएको निर्वाचन समेत हुन नसक्ने आंकलन गरिएको छ । हजारौँ कैदी र लुटिएका हत्यारहरु अझै फेला पर्न सकेका छैनन् ।
राजनीतिक विश्लेषकहरूको सुझाव छ कि अब समय आएको छ– युवाहरुलाई आवेगमा नबगाई, तर्कसंगत ढंगले विचार गर्न उत्प्रेरित गर्नुपर्ने। सरकार र समाज दुवैले मिलेर युवामा सकारात्मक चेतना विकास गर्नुपर्नेछ, जसले दीर्घकालीन सामाजिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
अन्ततः, जेनजी आन्दोलनले देखाएको चित्र मात्र आन्दोलनको सफलताको सूचक होइन, बरु यसले समाजमा फैलाएको अस्थिरता, भ्रम र आर्थिक क्षति गम्भीर चुनौती प्रस्तुत गरको छ । अबको कदम युवालाई चिन्तनशील र रचनात्मक मार्गमा उन्मुख गराउनु नै देशको प्राथमिकता हुनुपर्ने अवस्था आएको छ।
जेनजी युवाहरु र राजनीतिक दलहरुले विभेदकारी विकासको नीति नअपनाई समावेशी विकासलाई प्राथमिकता दिन आवश्क छ । शहरदेखि गाउँसम्मको सडकको विकास पिच कहिले गर्ने ? ग्रामिण बस्तिहरुमा उत्पादन गरेका सामाग्रीहरु अन्तराष्ट्रिय जगतसम्म पु¥याउन बजारीकरण र आयात निर्यातमा के कस्ता सुधार गर्ने, स्थानीयस्तरमा उत्पादन हुने बहुमुल्य बस्तुहरुमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा भने युवाहरुको ध्यान जान जरुरी छ।
सुविधाको अभावले गाउँ रित्तिँदै, उत्पादन योग्य जमिन बाँझिँदै — तर जेनजी पुस्ता किन मौन ?
नेपालका ग्रामिण क्षेत्र तीव्र गतिमा रित्तिँदै छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र यातायातजस्ता आधारभूत सुविधा नहुँदा गाउँका युवा र श्रमयोग्य जनसंख्या शहरतिर बसाइँ सरिरहेका छन्। तर, यो गम्भीर समस्यामा सरकार र नयाँ पुस्ता — जेनजी — को ध्यान आकर्षित हुन सकेको छैन।
ग्रामीण क्षेत्रका किसानहरू अझै पनि आफ्ना उत्पादन बेच्ने बजार नपाएर निराश छन्। रासायनिक पदार्थविनाका अन्न, फलफूल र तरकारीहरू बजारमा नपुग्दै नष्ट हुने अवस्था छ। उत्पादन योग्य जमिनको मूल्याङ्कन नहुने, बैंकहरूले गाउँमा जग्गा धितो राखेर कर्जा नदिने, र स्थानीय सरकारले कृषि अनुदान आफन्तहरूमा सिमित गर्ने प्रवृत्तिले गाउँको अर्थतन्त्र कमजोर बनाउँदै लगेको छ।
यसैबीच, गाउँ–सहरबीचको विभेद अझ बढ्दो छ। सहरका जमिनको मूल्य आकाशिएको छ भने गाउँका जग्गा किन्नेलाई खोज्नै गाह्रो छ। सडक र पुलजस्ता पूर्वाधार विकासमा समेत ग्रामीण क्षेत्र पछाडि पारिएका छन्। धेरै ठाउँमा अझै माटो र धुलोका बाटो, पुराना पुल र अव्यवस्थित यातायातका कारण उत्पादन बजारसम्म पुगोस् भन्ने किसानको सपना अधुरै रहन्छ।
विशेषज्ञहरूका अनुसार, यस अवस्थाले उत्पादन योग्य जमिन मरुभूमीमा परिणत हुन थालेको छ। युवा बसाइँसराइका कारण श्रम शक्ति घट्दै जाँदा खेतीयोग्य जमिन बाँझिँदै गएको छ। विगतमा राजाको पालामा नेपालमा गाँजाको खेति वैधानिक थियो । तर पछि अवैधानिक बनाइयो अमेरिकाको दबाबमा । अहिले विश्वका १६० देशमा वैधानिक भइसकेको छ । गाँजालाई ड्रग भनेर परिभाषा नगर्नुहोस्, औषधि,रोजगारी, र आर्थिक उपार्जन गरेर सबैलाई दिनका दिन सामाजिक आर्थिक अवस्था सुधारमा फड्को मार्न सकिन्छ भनेर अभियानमा लाग्नुपर्ने बेला आएको छ ।अवका पुस्ताले नेपालमा सुर्तीजन्य मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तुमाथि प्रतिबन्ध लगाएर हरियो सुनको नामले चर्चित गाँजा खेतीलाई वैधानिकता दिने विषयमा ध्यान खिच्नुपर्ने बेला आएको छ । आजको २१ औँ शताब्दिका शिक्षक नागरिकले यो आवाज नबोलेर व्यवारमा लागू नगराउने हो भने शिक्षित नागरिक भनेर चित्रण गर्नुको अर्थ छैन् ।
तर, प्रश्न उठ्छ — सामाजिक मिडियामा सक्रिय र परिवर्तनको कुरा गर्ने जेनजी पुस्ता किन मौन छ ? गाउँको वास्तविक विकास, कृषि पुनरुत्थान र स्थानीय उत्पादनको संरक्षणका विषयमा उनीहरूको अभियान किन नदेखिएको हो? विश्लेषकहरू भन्छन्, अब जेनजी पुस्ताले केवल सहरको राजनीतिक आन्दोलनमा होइन, गाउँको उत्पादन र विकास अभियानमा पनि आवाज उठाउन जरुरी छ। समान सुविधा र अवसरबिनाको देश विकास सम्भव छैन।
अब समय आएको छ — सहरजत्तिकै गाउँको विकास गर्न राजनीतिक दल, सरकार र युवा पुस्ता सबैले एकैसाथ काम गर्ने।



