इतिहासमा इन्द्रचोकको वास्तविकता । रविभक्त श्रेष्ठकानुसार इन्द्रचोक लिच्छविकलादेखि उपत्यकाको व्यावसायिक केन्द्रका साथै वस्तु विनिमय हुने थलोको रुपमा परिचित केन्द्र रहेको थियो । इन्द्रचोक काठमाडौँ बाहेक आर्थिक गतिविधिहरू अनेत्र त्यति चलायमान थिएनन् । व्यापारिक केन्द्र इन्द्रचोकबाट दुई शताब्दी लामो समयदेखि जमेका व्यवसायीका कारण फैलाएको व्यापार अहिले पूर्वदेखि पश्चिमसम्म फैलिएको छ ।
इन्द्रचोकमा रैथाने नेवार र मारवाडी समुदायको व्यापार थियो । मुख्यतया: यहाँ कपडा, खाद्यान्न, भाँडाकुँडाका पसल थिए । भारत र तिब्बतबाट सामान ल्याएर यहाँको व्यापार चल्थ्यो । हरेक जसो घरको भुईँ तलामा पसल र माथिल्लो तलामा बसोबास हुन्थ्यो । त्यतिबेला इन्द्रचोक पैसा साट्ने केन्द्र पनि थियो ।
उपत्यका र बाहिरबाट आएका व्यापारी, जागिरे जो कसैले पनि पैसा साट्न इन्द्रचोकका पसलमा नपुगी सुखै थिएन । प्रायः लाहुरेहरू पैसा साट्न आउने गर्थे । इन्द्रचोक आर्थिक र व्यापारिक केन्द्र जस्तै थियो । त्यतिबेला यहाँ सुका, मोहर जस्ता पैसा साट्ने पसल मात्रै पनि थिए । त्यस्ता पसललाई सराफी भनिन्थ्यो । हाम्रो परिवारको व्यापारिक सुरुआत सराफीबाटै भएको थियो ।
इन्द्रचोकमा हालका ठुला व्यावसायिक घरानाको कपडा र किरानाको व्यापार हुन्थ्यो । लत्ताकपडा प्रायः भारतबाट ल्याउने गर्थे भने ऊनका कपडा, भाँडाकुँडा तथा धातुजन्य सामान तिब्बतबाट आउँथ्यो । उपत्यकाकै कीर्तिपुर, लुभु जस्ता ठाउँका स्थानीयले बुनेका कपडा पनि इन्द्रचोकका थोक व्यापारीले किन्थे । भारतबाट प्रायः वीरगन्ज नाका हुँदै बोकेरै सामान ल्याउनुपर्थ्यो । इन्द्रचोकमा लुनकरणदास चौधरी (विनोद चौधरीका बुबा), बनबारीलाल मित्तल र हाम्रो पसल सँगैसँगै थियो । अहिलेका सबैजसो व्यापारिक घरानाका कपडा र किरानाका ५/७ थोक पसल थिए । त्यतिबेला व्यापारीबिच न अहिले जस्तो अस्वस्थ प्रतिस्पर्धा थियो, न सरकारबाट त्यस्तो झन्झट हुन्थ्यो । व्यापारीलाई सहुलियत दिएर राज्यको स्रोत बढाउनुपर्छ भनेरै सरकारले पनि नियम सहज बनाएको थियो ।
हजुरबुबा र बुबा (इन्द्रभक्त श्रेष्ठ) सराफीको कारोबार हुँदै किराना र कपडा व्यापारमा लाग्नुभएको थियो । नेपाल चेम्बर अफ कमर्सको स्थापना नै इन्द्रचोकबाट भएको हो । मेरो बुबालगायतले चेम्बरको स्थापना गर्नुभएको हो । हजुरबुबा बाहिर गएको बेला १० वर्षको उमेरदेखि पसलमा बसेर सुका, मोहर छानेर बस्ने गरेको बुबाले सुनाउनुहुन्थ्यो । बुबाकै सक्रियतामा चेम्बर अफ कमर्सअघि व्यापारीका संस्था वाणिक मण्डल गठन भएको थियो । बुबा राष्ट्र बैङ्कको निर्देशक पनि हुनुभएको थियो । त्यतिबेलाको व्यापारसम्बन्धी धेरै कुरा बुबाले आफ्नो पुस्तक ‘मेरा सम्झना’मा पनि उल्लेख गर्नुभएको छ ।
हजुरबुबा भारतीय ब्रोक बोन्ड चियाको मुख्य वितरक पनि हुनुभयो । कपडाको व्यापार पनि थियो । भारतबाट सुती कपडा ल्याएर व्यापार हुन्थ्यो । भारतबाट ल्याएर इन्द्रचोकमै औषधिको कारोबार पनि गर्यौँ । केहीपछि जापान, कोरियाबाट पनि लत्ताकपडा आउन थाले । बिहानै खोलेको पसल राति ९ बजेसम्म पनि खुला हुन्थ्यो ।
त्यतिबेला ढुवानीको साधन भनेकै भरिया हुन्थे । भारतबाट वीरगन्ज नाका हुँदै मगाएका कपडा काठमाडौँ आइपुग्नै ६/७ दिन लाग्थ्यो । यहाँबाट पोखरा, गोरखा, पाल्पासम्म भरियाबाट समान पटाउँथ्यौँ । थोक र साना व्यापारी, सरकार, बैङ्कबिच आपसमा विश्वास हुन्थ्यो । साना व्यापारीलाई हामीले उधारोमा सामान दिने चलन थियो । बुबा कहिलेकाहीँ उधारो असुल्न पाल्पा, गोरखासम्म जानुहुन्थ्यो । हिँडेर आउँदा–जाँदा १२/१५ दिन लाग्थ्यो । २००७ मा पोखरा, सिमरातिर साना जहाज चल्न थालेपछि यात्रामा सहज भयो । सञ्चारको सुविधा थिएन । त्रिपुरेश्वरमा दूरसञ्चार कार्यालय थियो । फोन सम्पर्क गर्नका पनि धेरै समय लाइन बस्नुपर्थ्यो । वीरगन्जमा सम्पर्क गर्न पनि कहिलेकाहीँ दुई/तीन दिन लाग्थ्यो । बिस्तारै टेलिग्राम, टेलेक्स, फ्याक्सको सुविधा आएपछि केही सहज भयो ।
धर्मपथमा नेपालको एक मात्र नेपाल बैङ्क लिमिटेडको कार्यालय थियो, आनन्दभक्त राज भण्डारी म्यानेजर हुनुहुन्थ्यो । उहाँले व्यापारीको मुख हेरेरै कसलाई कति दिने भनेर बैङ्किङ कारोबार गर्नुहुन्थ्यो । बैङ्कमा धरौटीबापत केही रकम राखेपछि भारतबाट सामान मगाइदिने व्यवस्था थियो । कसलाई कति धरौटी लिने उहाँले मुख हेरेरै तोक्नुहुन्थ्यो । त्यतिबेलाका इन्द्रचोकका व्यापारी बाहिरिए, अहिले अरू भित्रिएका छन् । परिवार र आम्दानी बढ्दै गएपछि दाजुभाइ अलग हुँदा व्यापार पनि विस्तार हुँदै गयो । पछि त्यहाँका व्यापारीहरू उद्योगतिर लाग्नुभयो । अहिले इन्द्रचोकका धेरैले घर भाडामा दिएकाले उहाँहरू त्यहाँबाट बाहिरिनुभएको हो ।
त्यतिबेला भारतबाट सुती कपडा र किरानाको सामान आउँथ्यो । ल्हासाबाट सुन पनि आउने गर्थ्यो । खाद्यान्न आयात गर्ने चलन कम थियो । मसला, चिया जस्ता वस्तु पनि भारतबाट आउँथे । सरकारले मुलुकभरका लागि कपडा आयात गर्न कोटा तोकेको हुन्थ्यो । त्यो जिम्मा बुबाले पाउनुभएको थियो । सामान आयात भएपछि बैङ्कमै राखिन्थ्यो । भन्सारका कर्मचारी बैङ्कमै आएर कर लिन्थे । त्यसपछि बुबाले देशभर अन्य ठाउँमा कपडा पठाउने गर्नुहुन्थ्यो ।
बुबाले आफ्नो पुस्तकमा लेख्नुभएको छ, ‘ब्रिटेन, जर्मनी, जापानबाट कलकत्ताको एजेन्टमार्फत नेपालमा कपडाका साथै अन्य सामान आयात गरिन्थ्यो । भारतमा रहेको ब्रिटिस सरकारद्वारा नेपालका लागि आएका सामान कलकत्ता कटमद्वारा बी फारामअन्तर्गत नेपाल भित्र्याइनत्थे । सामान काठमाडौँ पुगेको प्रमाणित गर्न पनि नेपालस्थित ब्रिटिस लिगेसनबाट टेकु भन्सार कार्यालयमा अङ्ग्रेज नै आई जाँच गरेर प्रमाणित गरिदिन्थे ।
कपडा व्यापारमा मारवाडी समुदायको बाहुल्य थियो । ‘नेपाली व्यापारीलाई सहुलियत दिन सरकारले रोपवेबाट सामान ढुवानी गर्दा १० प्रतिशत छुट दिन्थ्यो । भन्सारमा पनि नेपाली व्यापारीलाई सहुलियत थियो । मारवाडीले दोस्रो महिना भन्सार तिर्नुपर्थ्यो भने नेपाली व्यापारीलाई १४ महिनामा तिर्नुपर्ने व्यवस्था थियो,’ बुबाले पुस्तकमा लेख्नुभएको छ । नेपालका अन्य ठाउँमा पनि व्यापारीको सङ्ख्या बढ्दै गएर भारत सरकारको सम्बन्धित निकायबाट सप्लाई गर्न झन्झट भएपछि ‘नेपाल ट्रेड सिन्डिकेट’ नामको कम्पनी स्थापना भएको पनि पुस्तकमा छ ।
‘तत्कालीन राणा प्रधानमन्त्रीले नेपाल ट्रेड सिन्डिकेटलाई ६ रुपैयाँ चालु पुँजी र सामान आयात हुने बित्तिकै भारतलाई भुक्तानी दिन नेपाल बैकलाई तीन करोड रुपैयाँ मुलुकी खानाबाट ऋणको व्यवस्था भयो । काठमाडौँका लागि नेपाल बैङ्क र जिल्लाहरूमा बडा हाकिमद्वारा इजाजत पाएका फर्मलाई मात्र माल बाँड्ने व्यवस्था सुरु भयो,’ पुस्तक ‘मेरो सम्झना’ मा भनिएको छ ।
अहिले जति पनि नेपालका व्यापारिक घराना छन्, ती सबै इन्द्रचोकबाटै विस्तार भएका हुन् । बिस्तारै व्यापार बढ्दै गएपछि व्यापारीबाट वाणिक मण्डलको गठन भयो । त्यसले बिस्तारै नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको हो । त्यतिबेला इन्द्रचोकका व्यापारीले सङ्गठित हुनका लागि सुरु गरेको वाणिक संस्थाबाट २००९ मा चेम्बर अफ कमर्सको स्थापना हुँदै अहिले उद्योगी, व्यवसायीका दर्जनौँ संस्था र हजारौँ उद्योग खुलेका छन् । व्यापार विस्तार हुँदै गएपछि संस्थाको आवश्यकता देखेर चेम्बर संस्थाको विधान बनाउन पनि लन्डनबाट विज्ञ बोलाएर गरेको बुबाले सुनाउनुहुन्थ्यो । बुबा चेम्बरको स्थापनादेखि अन्य धेरै संस्थामा सक्रिय हुनुभयो । पछि उद्योग वाणिज्य सङ्घ जस्ता संस्था गठन हुँदै गएर अहिले व्यवसायीको सञ्जाल बनेको छ ।
सन्दर्भ सामग्री: वरिष्ठ पत्रकार खिलध्वज थापाज्यूले २०८२-असार २२ गते आफ्नो फेसबुक वालमा शेयर गर्नुभएको पोष्ट बाट साभार




