काठमाडौँको ओमबहालमा ऋद्धिबहादुर र आनन्दमाया मल्लको जेठा सुपुत्रको रूपमा जन्मेका गोविन्दबहादुर मल्ल गोठाले (वि.सं. १९७९–२०६७) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको बाल्यकाल मधेसतिर बितेको थियो भने पढाइको सुरुआत बनारसको थियोसफिकल स्कुलबाट भएको थियो । बनारसमा तीन वर्षको बसोबासपश्चात् परिवारका साथ गोठाले काठमाडौँ आएका थिए । काठमाडाँैंको दरबार हाइस्कुलमा करिब आठ वर्षजति अध्यापन गर्नुभयो । आइ.एस्सी.सम्मको औपचारिक शिक्षा प्राप्त गरेका उनले स्वाध्यायनद्वारा नेपाली, अङ्ग्रेजी र हिन्दीमा लिखित पूर्वीय पश्चात्य साहित्य, दर्शन, समाजशास्त्र तथा मनोविज्ञान आदि विषयहरूको पर्याप्त मात्रामा ज्ञान हासिल गरेका थिए । बाल्य अवस्थामा उनको खेलकुदतर्फ बढी नै झुकाव थियो । ठुलो परिवार हुनाले गोठालेलाई रमाइलो–मनोरञ्जनपूर्ण वातावरणमा हुर्कने शुभअवसर मिल्यो ।
गोठालेको वि.सं. १९९९ मा पहिलो विवाह भएको थियो । जेठी श्रीमतीबाट दुई छोराको जन्म भयो । साढे तीन वर्षमा जेठी श्रीमतीको मृत्यु हुन पुग्यो । गोठालेले आफ्नो श्रीमतीको अभावमा एक्लो महसुस गरे । आफ्ना बालबच्चाहरूको स्याहारसुसार गर्न आफ्नै इष्टमित्र र दाजुभाइको सरसल्लाहअनुसार आफ्नै सालीसँग वैवाहिक सम्बन्ध गाँसे । केही वर्षपछि आफ्नी कान्छी श्रीमतीका साथै आफ्नो कान्छो छोराको समेत मृत्यु हुन गयो । मानसिक पीडा भए पनि आफ्नो परिवारका सदस्यहरूले गोठालेलाई सान्त्वना दिइरहन्थे, यसरी नै चित्त बुझाएर बस्थे गोठाले ।
आफ्नो वैवाहिक जीवनभन्दा अगाडि प्रेमको बारेमा प्रश्न गर्दा “एक त त्यति बेला धेरै युवतीहरू भेट्नै गाह्रो थियो, झन् अहिले जस्तो स्वतन्त्र रूपले हिँड्ने युवायुवती पनि थिएनन् । त्यस्तोमा त सङ्कुचित भावना राख्नुपर्ने स्थिति थियो । कहिलेकाहीँ देखादेख हुन्छ भन्नु त केवल झ्यालबाट झलक्क हेर्नु मात्र हो । पछि बिहा पनि भयो उनै पहिली श्रीमतीसँग । मेरी पहिली श्रीमतीको मृत्युपछि दोस्रो बिहे गरेँ उनकी बहिनीसँग । अब प्रेम यसैलाई भन्नुपर्ला । वास्तवमा प्रेम त तीव्र हुन्छ ।”
गोठाले भन्नासाथ नेपाली साहित्यको फाँटमा बेग्लैखालै पहिचान स्थापित भएको छ । बाल्यकालदेखि नै साहित्यमा लागेर अन्ततः स्थापित भएका हुन् उनी । अधिकांश लेखकहरूका नेपाली साहित्यमा लेखनीको पहिलो विधा नै कविता हुन्छ । त्यसो त गोविन्द गोठालेले पनि वि.सं. २००५ मा शारदा पत्रिकामा सर्वप्रथम ‘ममता’ शीर्षकमा कविता प्रकाशित गरी नेपाली साहित्यमा होमिएका हुन् । उनको जम्मा पाँच ओटा कविता मात्रै विभिन्न समयमा शारदा पत्रिकामा प्रकाशन भएको थियो । गोठालेद्वारा लेखिएका कविताका एक अंश ः
चमकिलो देश हो यो,
जसको छ मधुरो प्रकाश–
यौवन रस रंगमा फलेको,
….
नेपाल छ मनमुग्ध कारी
अथवा स्फूर्ति र बुद्धिको भकारी ।
(सन्ध्याकालीन नेपाल)
अठार वर्षको उमेरदेखि कविता विधाबाट सुरु गरेको लेखनीलाई कथा, उपन्यास र नाटक विधासम्म पु¥याए । गोठाले भन्नासाथ उनलाई नेपाली साहित्यका पाठकहरूले कालजयी कथाकारका रूपमा चिन्छन् । यद्यपि उनी कथा, उपन्यास र नाटकमा समान रूपले जमेका थिए । यी विधामा मनोवैज्ञानिक ढङ्गले विश्लेषण गर्न सक्ने क्षमता उनमा मनग्य नै थियो । प्रायः जसो लेखकहरू आफूले लेख्दा कोही कसैको प्रभावले लेख्ने गर्छन् । यस सन्दर्भमा गोठाले भन्थे– “त्यो प्रभाव भनेको नक्कल नभई आधुनिक लेखक हुन सकिन्न । ममा पनि प्रभाव चेखभ, टैगोर, शरदचन्द्र, मोपासाँ, इमिली जोला, दस्तोए भस्की आदि विदेशी कथाकारको परेको छ भने नेपालीमा वी.पी. कोइराला ।”
त्यस्तै सिद्धिचरण श्रेष्ठबाट लेख्ने प्रेरणा पाएँ, गोपालप्रसाद रिमालबाट आधुनिक र देवकोटाबाट लगनशील बन्न भन्ने वरिष्ठ कथाकार गोठालेले “आन्तरिक जीवन बाह्य जीवनसँग स्वतन्त्र हुन चाहन्छु । यिनै कुराको सङ्घर्ष पनि आफ्नो रचनामा देखाउन खोजेको छु ।” भन्नुहुन्छ ।
आधुनिक नेपाली कथा साहित्यको क्षेत्रमा उनलाई विश्वेश्वरप्रसाद कोइराला र भवानी भिक्षुपछिको तेस्रो मनोविश्लेषणवादी कथाकारका रूपमा चिनिन्छ । होचो कद, गोरो अनुहार, सानो आँखा, कम बोल्ने अन्तर्मुखी स्वभावका गोठालेको जीवन परिवेश आफ्नै खालका थिए । एकान्त रुचाउने, साहित्यमा साधनारत, सभा समारोहमा पनि त्यति नजाने गोठालेले आफ्नै समाजमा घटेका र घट्न सक्ने विषयवस्तुलाई केन्द्रित बनाएर साहित्य लेख्थे । कथा, उपन्यास र नाटकको शीर्षक राख्ने आफ्नै खालको विशेषता थियो । अहिलेसम्म उनले जे लेखेका थिए त्यो चर्चायोग्य नै छ ।
गोठालेका बुबा ऋद्धिबहादुर मल्लले शारदा पत्रिका घरमा नै प्रेस सञ्चालन गरेर प्रकाशन गर्दै आएका थिए । अहिले हामी जे–जति पनि साहित्यका महारथि भन्छौँ नि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, भवानी भिक्षु ती सबै गोठालेको घरमा आइरहन्थे उनको बुबासँग भेटघाट गर्न । तिनै उठबस र प्रेरणाले त्यही बेलादेखि नै गोठालेले लेख्न थाले । प्रेसमा आउँदा–जाँदा साहित्यकारहरूसँगको भेटघाट र भलाकुसारीबाट गोठालेमा पनि साहित्यप्रतिको झुकाव बढ्न गयो । उनको पहिलो कथा सन् १९९७ तिर ‘त्यसको भाले’ शारदामा, पहिलो नाटक ‘त्यो बाच्छो’ शारदामा र पहिलो उपन्यास ‘पल्लो घरको झ्याल’ २०१६ मा प्रकाशित भएको थियो ।
राणा शासनकालमा आम नेपाली जनताका छोराछोरीले खुला रूपमा लेखपढ गर्न नपाउने अवस्था थियो । प्रजापरिषद्ले छरेको राणाविरोधी पर्चा टिपेको आधारमा गोठालेलाई केरकारका लागि सिंहदरबार लगिएको थियो । राणाहरूले दुःख देलान् भनेर भवानी भिक्षुले गोविन्दबहादुर मल्ललाई गोविन्द गोठाले भनेर गोठालेद्वारा लिखित ‘ममता’ शीर्षकको पहिलो कविता शारदा पत्रिकामा छापेका थिए । फरक नाम परेका हुनाले गोठालेले सजाय पाएनन् । त्यति बेलादेखि नै गोठाले उपनाम राखेका हुन् उनले ।
गोठालेले कथा सङ्ग्रहतर्फ कथासङ्ग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बाह्र कथा (२०५२), जङ्गबहादुर र हिरण्य गर्भकुमारी (२०६१), उपन्यासतर्फ पल्लो घरको झ्याल (२०१६), अपर्णा (२०५३), पियानानी (२०५६) र नाटकतर्फ भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६), दोष कसैको छैन (२०२७) जस्ता गहकिला कृति चिनोको रूपमा हामी माझ छाडेर गएका छन् । विभिन्न सभा–समारोहका साथै अन्तर्वार्ताहरूमा आफूद्वारा प्रकाशित सबै कृति उत्तिकै मन पर्ने अभिव्यक्ति दिन्थे ।
गोविन्द गोठालेद्वारा लेखिएका सबै रचनाहरू उत्कृष्ट नै छन् । तीमध्ये पल्लो घरको झ्याल उपन्यास सर्वोत्कृष्ट कृतिको रूपमा लिन सकिन्छ । यो उपन्यास काठमाडौंँका नेवारी समाजका एक परिवारको विषयवस्तुमा आधारित भएर लेखिएको हो । उनी भन्थे “कथा भनेर लेखिएको तर लामो भएको हुँदा उपन्यास बन्न गयो । यद्यपि उपन्यास भनेर लेखेको भए उपन्यास धेरै लामो हुने रै’छ । यस उपन्यासले वि.सं. २०६१ मा भिन्न शैलीमा प्रस्तुत भएको मान्न सकिन्छ । यसभन्दा पूर्व उक्त शैलीको थालनीको श्रेय चाहिँ वि.सं. १९९२ मा बी.पी. कोइरालालाई नै जान्छ । गोठालेको उपन्यास विशेषतः नारी पात्रमा केन्द्रित देखिन्छ । सुगठित एवं सघन कथानकभन्दा चरित्रचित्रणमा बढी जोड दिनु उनको विशेषता नै हो ।
गोठालेले कथा, नाटक र उपन्यासका अलवा छोटो समय संस्मरणतिर पनि कलम चलाए । वि.सं. १९९७ साल काण्ड र त्यो घर र कृष्णप्रसाद कोइराला शीर्षकमा संस्मरणात्मक निबन्ध लेखे । जुन निबन्ध अत्यन्त मार्मिक छ ।
उहाँको त्यो घर र कृष्णप्रसाद कोइराला शीर्षकको संस्मरणमा लेखिएका केही अंश…
… नब्बे सालको भैंचालोपछि जुद्धशमशेरको नाममा नयाँ सडक बन्न थाल्यो, फराकिलो आधुनिक सडक । टुँडिखेलबाट सोझिँदै प्युखाबारीलाई उखेल्दै अवरोधमा खडा भएको घरलाई भत्काउँदै, भण्डारखाललाई छिचोल्दै, वसन्तपुरका घरहरूलाई सम्याउँदै नयाँ सडक बन्यो । त्यस्तै हाम्रो टोलको हाम्रो घरको पारिपट्टि रहेको सरकारी घोडा राख्ने तबेला पनि हट्यो । तबेलाको पर्खाल भत्काइयो र लाम लगाएर विस्थापित घरहरूलाई त्यहाँ बसाइयो, त्यस्तै विस्थापित घर भेटनारायण मास्टरसाहेबको पनि थियो । …
गोठाले आधुनिक नेपाली कथाका सामाजिक र मनोवैज्ञानिक धारा (१९९१–२०१६) का एक महान् निर्माता हुन् । नेपाली कथा फाँटमा देखा परेका गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला र भवानी भिक्षुपछिका चौथो महान् कथाकार हुन् । उनले लेखेका कथाहरूमा सामाजिक र मनोवैज्ञानिक विषयवस्तुको प्रयोग भएको छ ।
युग परिवर्तनका लागि कथाको माध्यमबाट कलम चलाएका गोठालेका केही कथामा सामाजिक पक्ष मुख्य विषय वस्तु बनेका छन् । उनले परिवार, प्रेम, विवाह प्रसङ्ग, महिलाको विविध विषयवस्तु समेटेर सहरिया जनजीवनका र राष्ट्रिय महत्वका समस्याको मार्मिक ढङ्गले चित्रण गरेका छन् ।
गोठालेका कथामा एकपक्षीय प्रस्तुति नभएर बहुपक्षीय यथार्थमा प्रस्तुत भएको छ । युवा अवस्थादेखि मृत्युको अन्तिम अवस्थासम्म मान्छेलाई यौवन शक्ति दिने उनका कथाले स्पष्ट पार्छ । घटनाको सङ्क्षेपमा वर्णन गर्न र थोरैमा धेरै भन्न सक्नु गोठालेको खुबी नै हो । कथाको मनोवैज्ञानिक पक्ष मुख्य रूपमा फ्रायडको मनोविश्लेषण सम्प्रदाय र व्यावहारिक मनोविज्ञानसँग जोडिएर गोठालेले युवायुवती बिच यौन–आवेगको कलात्मक चित्रण गरेका छन् ।
कथामा मनोवैज्ञानिक, मनोविश्लेषणका साथै यौन आवेगको चित्रण छताछुल्ल हुने गरी पोखेको सन्दर्भमा गोठाले भन्थे “मेरो कथालेखनको सुरुतिरको कथा निद्रा आएनको सम्झना यति बेला आइरहेछ । त्यति बेला किशोर अवस्थाको हुँदा त्यस अवस्थाको चित्रण गरेको हुँ । कुनै एक युवती देखेर निद्रा नआएर रात छटपटीमा बितेको थियो । त्यो छाप भन्नु नै निन्द्रा नआएको छाप यो कथामा छ । त्यस्तो छाप परेकैले नै मलाई यो कथा मन पर्छ । त्यस युवतीबारे आफ्नो केही घटना प्रभावमा परेर यो कथा लेखेको हुँ । त्यस्तैत्यस्तै प्रभाव अर्थात् घटनाको प्रभावबाट लेखेको कथाहरू कृष्णे र खुकुरी पनि मन पर्छ ।”
‘कृष्णे र खुकुरी’ कथासङ्ग्रह–२००३ मा समावेश भएको कथा हो । यो कथा उनले द्वितीय विश्वयुद्धपछि लेखेका हुन् । खुकुरी नेपालीले प्रयोग गर्ने प्रमुख हतियार । खुकुरीलाई गोर्खालीको वीरताको प्रतीक रूपमा मानिन्छ । खुकुरीको काम काट्ने नै हो । काट्ने नै भएकाले जहाँ पायो त्यही काट्ने होइन । आत्मरक्षाका लागि प्रयोग गर्ने साधनका रूपमा लिइन्छ खुकुरी । यस कथामा कृष्णे नामक एक प्रमुख पात्र हुन्छ ।सौखका कारण खुकुरी किनेर कम्मरमा भिर्छ ।
एक समय घरमा सुतिरहेको बेलामा मनमा अनेकन कुरा खेल्न पुग्छ । अन्ततः सुतिरहेकी आफ्नी पत्नीको घाटीमा खुकुरी प्रहार गरी ज्यान लिने काम हुन्छ । यस कथाले दोस्रो विश्वयुद्धमा भएको हतियार होडबाजीका कारण सिर्जना भएको दुःखलाग्दो महाविनाशको भाव व्यक्त गरेको भन्न सकिन्छ । अझ यस कथाले विवेक, बुद्धि र कमजोर मन हुनेले हतियार लिन नहुने सन्देशसमेत प्रवाह गरेको देखिन्छ ।
गोविन्द गोठालेको ‘आत्म–दर्शन’ एकाङ्की पनि चर्चा योग्य नै छ । यस एकाङ्कीमा हस्तनरसिंह, हृषिकेश, हर्षे, पुरोहित बाजे, शान्ति, रेणुका, उमा जस्ता पात्रहरू छन् । एकाङ्कीको सार एक सामन्ती परिवारको बैठक कक्षमा खिचेको छ । वि.सं. २००७ सालपछि राजनैतिक परिवर्तनपछि भत्ता र बिर्तामा सीमित भएर बाँचिरहेका सामन्ती परिवारको दैनिकीमा घट्ने घटनाको सार खिचेको छ ।
घरको अवस्था डामाडोल भएका कारण घरको मुली अर्थात् एकाङ्कीका मूल पात्र बौलाएका छन् । जति खेर पनि ढोका लगाएर कोठामा बस्न बाध्य भएका छन् । यसरी सामन्ती परिवारमा आर्थिक विघटनपछि आएको समस्यालाई मूलभूत रूपमा एकाङ्कीमा प्रस्ट्याउन खोजेका छन् ।
पुरोहित–
जे भने पनि हुन्छ । हुन त हाम्रो
शास्त्रमा जन्म ग्रहण गर्नु नै पूर्वजन्मको पापको
कारण हो, त्यसकारण शोक मान्नुपर्छ । तर नर्कमा
बस्नुभन्दा पृथ्वीमा जन्म लिएर धर्मकर्म गर्न पाउनु र
पापमोचन गर्न पाउनु पनि त सानो हर्षको कुरा होइन ।
यसकारण जन्मको उत्सव पनि त मनाउनुपर्छ ।
…..
हस्त–
उ देखेनौ ? अहिले अर्कै आवाज छ । सुस्तरी
रोएजस्तो, पीडा र व्यथाले किचिएजस्तो ! खुल्यो
उः खुल्यो (शान्ति ढोकालाई हेरिरहेकी हुन्छे र
केही देखेजस्तो तर्सेर बस्छे) आऊ….आऊ….आऊ ।
(विकृतिले चिच्याएर) आयो ?…(तर्सेर हेरेको हे¥यै हुन्छ)
मेरो रूप, मेरो अर्को रूप म आत्मा–दर्शन, मेरो प्रेतात्मा ।
तिमी मलाई अस्तिदेखिन् चियाइरहेको ? आऊ बस स‘गै ।
(कौचमा बस्छ, अलि सरेर कसैलाई ठाउ‘ दिएजस्तो गर्छ ।
(रूपहीन चेहरालाई हेरेर) बुझे‘, उसो भए मेरो
उपयोगिता सिद्धियो । मैले यस संसारबाट
बिदा लिए पनि भयो । हुन्छ, देशको
उन्नति हुन्छ भने मजस्तो अल्छीको
पिण्ड बेकम्मा शोषकको के काम !
तपाईलाई सन्चै छ ? म जन्मेदेखिन्
नै मलाई पर्खिरहनुभएको हो क्यार ।
त्यस्तै, उनका एकाङ्कीमध्ये ‘म कसरी हार्छु’ पनि वि.सं. २००७ सालपछि प्रजातन्त्रको आगमनपश्चात् राणा परिवारमा देखिएको समस्याको थुप्रोलाई उजागर गर्न खोजिएको छ । नवीन शैलीमा लेखिएको नाटकमा प्रेमको अन्धो रूप तथा निजी स्वार्थका लागि मान्छेले जे पनि गर्दा रहेछन् भन्ने सन्देश दिन खोजिएको छ ।
तपाईं ठान्नुहुन्छ मरेपछि सबै सम्पत्ति
मेरै हुन्छ भन्ने ? तर तपाईंको बुबाभन्दा
तपाई नै पहिले मर्नुहुन्छ । तपाईंको
बुबा अझै हृष्टपुष्ट हात्तीजस्तो देखिनुहुन्छ ।
तपाईं त सुइ‘खुट्टे, भोको ऑखा, रोगी
अनुहार, चोखे लागेको ओठ । बावु
कहिले मर्ला र सारा सम्पत्ति आफ्नो
पारू‘ला भनेर पर्खेरहेको अनुहार ।
तर त्यो सम्पत्ति तपाईंको हुन पाउ‘दैन ।
सबै मैजस्ताको हुन्छ । सबै नै
मेरो हुन्छ भने पनि हुन्छ ।
०००
(रन्केर) तेरिमा पाजी, बजिया, गधा, बेइमान ।
गाला फोड्छु कुलाङ्गारको र अनि । वड,
मैले आफ्नो पैसा खर्च गरेँ त, त‘लाई
के भयो ? कपाल दुख्यो तेरो ?तैले कमाएको
हो र फटाहा ?मैले कमाएको बुझिस्?
पानीआन्द्रे !बेबकुफ ! चुनाउमा मद्दत
गर्नु त कताकता उल्टो चुनाउमा काम गर्ने
मान्छेलाई मनपरी‘ भन्ने । मैले बुझिस्, यही
हातले कति कमाए‘, कति फुके‘ । मैले
जूवै खेले‘ रे, त‘लाई के भो । कैयौ त
जुवामा फुकिसके‘ ।
गोठालेले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदान अतुलनीय छ । लामो समयसम्म साहित्यमा साधनरत रहेका गोठाले कसैसँग झुकेनन् । नझुकेका कारणले नै होला राज्यबाट उनको उच्च मूल्याङ्कन गर्ने काम भएन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा उनलाई प्रज्ञा पुरस्कार प्रदान गरेर सम्मान गरियो । अन्य जति पनि उनलाई सम्मान गर्ने काम निजी क्षेत्रबाट मात्र भएको थियो । जस्तै : त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२), भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५), वेदनिधि पुरस्कार (२०४८), पहलमानसिंह स्वाँर पुरस्कार (२०५२), सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३), गोरखा दक्षिणबाहु सम्मान (२०३६), मधुपर्क सम्मान (२०३३), सरस्वती सम्मान (२०३६), महाकवि देवकोटा शताब्दी सम्मान (२०६६) ।
नेपाली साहित्यको मूर्धन्य व्यक्तित्व गोविन्दबहादुर गोठालेको अवसान २०६७ मङ्सिर २७ को समयमा ८८ वर्षको उमेरमा हुन गयो । १० दिनको अस्वस्थतापछि उनको जीवनलीला समाप्त भयो ।
उनको भौतिक शरीर नरहे तापनि उनले छाडेर गएका कृतिहरू कालजयी रहने छन् । गोठालेको लगनशीलता, कर्मयोगी, इमानदारीलाई भावी पुस्ताले पनि आफू–आफूमा बौद्धिक पोषणको रूपमा लिई स्तरीय सिर्जनामा उन्मुख रहनुपर्दछ ।




