अमेरिकाप्रति मानिसहरूको यतिधेरै चासो किन भएको होला भन्ने प्रश्नले यदाकदा मलाई पिरोल्ने गर्छ । ज्ञान र सिपबिनाको मानिस अमेरिकामा गएर दुःखमात्रै पाउँछ भन्ने कुरा त्यहाँ गएका धेरै मानिसको मुखबाट मैले पनि सुन्दै आएको छु । फेरि पनि मानिसहरू महिनौ लगाएर अमेरिका पुग्नलाई मरिहत्ते गरिरहन्छन् र त्यहाँको दुःखलाई बेसाउन चाहन्छन् । २०/२२ वर्षको हुँदा अमेरिका जाने प्रवल इच्छा ममा पनि थियो । त्यस बेला चढ्दो उमेरको जोस र साथीभाइहरूबिचको सङ्गतले मन जुरुक्क जुरुक्क बनाउँथ्यो । त्यतिखेर पनि विदेसिने माहोल थियो तर अहिलेजस्तो सस्तो थिएन । विदेश जाने भएपछि प्रायः सबैको पहिलो रोजाइमा अमेरिका नै पर्दथ्यो । एक पटक त्यहाँ पुगेपछि नेपालीहरू उतै सेटल हुने चाहना राख्दछन् । मेरो पनि अमेरिकामा सेटल भएर ग्रिनकार्ड लिने उतिबेलाको ठुुलै सपना थियो तर त्यतिबेला पूरा भएन पछि त्यो विचारै मरेर गयो र मलाई यतै बस्नुपर्छ भन्ने भयो । अब त्यसप्रति कुनै गुनासो छैन ।
२०५० सालतिर मेरा जेठानदाजु रामकृष्ण प्रधान सरकारी कोटोमा अमेरिका जानुुभएको थियो । उहाँ त्यति बेला राजदरबारका विश्वासपात्रमध्येकै एक मानिनुहुुन्थ्यो । उहाँ त्यतिखेर करिव एक वर्ष अमेरिकामै बस्नुुभएको थियो । त्यस बेला म भर्खरै नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट कानुन विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर बसेको थिएँ । मेरो थप पढाइका लागि उतै बोलाउन त्यहाँ स्थित क्वीन्स कलेजबाट लेटरसमेत पठाउनुभएको थियो । सबै प्रक्रिया उतैबाट गरिदिने भनिए तापनि त्यसबेला गइन । कारण थियो क्याम्पसको राजनीति । मलाई राजनीतिको नसा चढिसकेको थियो । म त्यतिखेर नेपाल विधार्थी सङ्घ क्याम्पस एकाइ अध्यक्ष भएर विद्यार्थी राजनीतिमा सक्रिय भइसकेको थिएँ ।
मलाई लाग्यो अमेरिकाभन्दा यहाँको सक्रियता महत्त्वपूर्ण छ । समयको परिबन्द भनौ कि विधाताको खटन आज झण्डै पचासको दशकमा जीवन पुगिसकेपछि अमेरिका जाने चाँजोपाँजो मिल्न गयो । जेठी छोरी श्रीया र ज्वाँइ विकास अमेरिकाको टेक्सास राज्यमा विगत सात वर्षदेखि स्थायी रूपले बसोबास गर्दै आएका छन् । छोरी ज्वाईंले जसरी पनि अमेरिका नआइ हुँदैन भनेर उतैबाट भिसाको प्रक्रियासमेत अगाडि बढाएपछि मैले नाइँ भन्नै सकिन । भिसाको प्रक्रियाबारे छोरी ज्वाइँ नेपाल आउँदा जानकारी प्राप्त भएको थियो । त्यतिखेर करिव दुई हप्ताको बसाई पछि छोरी ज्वाई अमेरिका फर्किएका थिए ।
अमेरिका जाने कुराले म र घरपरिवार एक प्रकारले खुसी नै थियौं । नयाँ ठाउँप्रतिको जिज्ञासा सबैलाई हुन्छ नै हामीलाई पनि भएको थियो । त्यसको एक वर्षपछि इमेलमार्फत् अमेरिकी राजदुतावासबाट एउटा जानकारी आयो जसमा अन्तरवार्ताको मिति तोकिएको थियो । भिसाको लागि अन्तरवार्ता दिनुपर्ने दिन क्रमशः नजिक हुँदै गर्दा भित्रभित्रै छटपटी पनि चलिरहेको थियो । २०८० भाद्र.महिनाको २७ गते नुवाकोटबाट सबै कागजपत्रसहित श्रीमती समितालाई लिएर म काठमाडौं गएँ । भोलिपल्टै भिसाको लागि अन्तरवार्ता दिन जानुपर्ने र विभिन्न प्रक्रियाका लागि आवश्यक कागजात तयार गर्नुपर्ने कामहरू थुप्रै बाँकी थिए ।
बिहान अलि छिटै महाराजगन्जस्थित अमेरिकी दुतावासतर्फ लाग्यौँ । बिहानै त्यहाँ बाक्लै भिड लागिसकेको थियो । दुतावासमा पेस गर्न हालसालको फोटो हुनुपर्ने रहेछ । दुतावासअगाडि थुप्रै फोटो खिच्ने तथा भिसा आवेदन फर्म भर्ने अफिस तथा पसलहरू खुलेका रहेछन् । अर्जेन्ट फोटो खिच्ने, फोटोकपि गर्ने, भिसा आवेदन फारम भराउने व्यवसाय नै बनिसकेको देखियो । ती पसलहरूमा मानिसहरूको भिडभाड पनि त्यतिकै थियो । एउटा स्टुडियोमा हामी दुबैको फोटो खिचाएर दूूतावासको लाइनमा लाग्यौं । वारिबाट पारि दूतावाससम्म जान सवारीसाधनहरूको आवत जावतले गर्दा बाटो काट्नै कठिन देखिरहेका थियौँ । युवालाई भन्दा विशेष गरेर बुढ्यौली पुस्ताका लागि बाटो काट्नै नसकिने अवस्था थियो । सहयोगीको सहयोगले ती वृद्धवृद्वाहरूलाई बाटो काट्न सहज भएको पनि देख्यौँ हामीले । त्यहाँ बाटो चौडा गर्नुका साथै ट्राफिक प्रहरीबिटको व्यवस्था गर्न सकेमा सहज हुने थियो ।
दुतावासभित्र मोटरसाइकलको हेलमेट, ब्यागजस्ता केही पनि लैजान नपाइने नियम रहेछ । पार्किङको समुचित व्यवस्था पनि छैन । त्यहाँ भिसा आवेदन गर्न जाने मानिसहरूको लागि सामान राख्ने, पार्किङमा सवारी राख्न ज्यादै समस्या हुँदो रहेछ । त्यति व्यवस्था र सहजताको लागि दुतावासले कुनै पनि सुविधा मिलाएको छैन ।
करिव दुई सय जति आवेदनकर्ताहरू लाइनमा बसेका थिए । पहिलो गेटमा क्रमशः सुरक्षाकर्मीले चेकजाँच गर्दै भित्र पठाइरहेका थिए । पहिलो गेटमा मानिसहरूको चेकजाँच हुने रहेछ । हामी पनि चेकजाँच पछि भित्र गयौं । भित्र पुगेपछि फेरि थप तिनवटा गेटहरू रहेछन् । दोस्रो गेटमा कागजपत्र जाँच गर्ने, तेस्रो गेटमा छनौट गर्ने ठाउँ रहेछ । आगन्तुकलाई बस्नका लागि खुल्ला प्रतिक्षालयको व्यवस्था गरिएको छ । वरिपरि बगैंँचा र प्रयाप्त मात्रामा खुल्ला चौर देखिन्छ । बगैंचामा रङ्गीचङ्गी फूलहरू पूmलेका छन् । सानातिना बोटबिरूवा लामबद्व गरेर रोपिएका छन् । अमेरिकामा जस्तै व्यवस्था थियो सायद । सफा सुन्दर र हरियाली प्रावृmतिक दृश्यले मननै आनन्दित तुल्याउने त्यहाँको वातावरण रहेको छ । त्यो ठाउँ खास टाढाको त होइन । त्यो बाटो महिनाको एक पटक कम्तीमा पनि हिँडेको हुन्छु तर दूतावासभित्र काम नपरी छिर्ने कुरा भएन । भित्रको वातावरण साँच्चिकै मनमोहक रहेको छ ।
चौंथो गेटबाट अन्तरवार्ताको लागि प्रवेश गर्ने प्रक्रिया रहेछ । उक्त कार्यकक्ष सरसर्ती नियाल्दा भवन भयानकका साथै सजिसजावट पनि उस्तै । कर्मचारीहरू आ–आफ्नो कार्यकक्षमा तल्लिन थिए । अमेरिकी र नेपाली नागरिक बराबरी जस्तै देखिन्थे कर्मचारीहरू । सुरक्षा गार्डहरू ठाउँ ठाउँमा राखिएका छन् । विद्युतीय साधनको भरमग्दुर प्रयोग गरेको देखिन्छ । आगन्तुकका लागि शौचालय, पिउने पानी तथा बस्नका लागि कुर्सीको व्यवस्था पनि रहेको छ । बालबालिकाका लागि खेल्ने ठाउँ र प्रशस्त मात्रामा खेलौना पनि राखिएको छ । भित्तामा सकारात्मक सोच राख्ने तस्विर र स्लोगनहरू टाँसिएका छन् । सिस्टममा चलेको देश भएकाले नै अमेरिका ब्रान्डेड नाम भएको हो भन्ने कुरा यहाँको व्यवस्थापनले भनिरहेको थियो ।
अन्तरवार्ता लिनको लागि दसवटा टिकट काउण्टर जस्तै कोठाहरू तय गरिएको रहेछ । सबै चेक गराएर अन्तरवार्ताको लागि प्रतीक्षामा बसियो । यसरी अन्तरवार्ताको लागि थुप्रै मानिसहरूको लाइन थियो । सबै जना आफ्नो पालो कुरेर बस्ने र नाम आएपछि भित्र अन्तरवार्ता दिन प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । सबैको अनुहारमा डर, चिन्ता, खुसी र व्यग्रताजस्ता भावहरू देखिन्थ्यो । कसैकसैको आठौं पटक, कसैको पाँचौ पटकसम्म पनि भिसा रिजेक्ट भएको र फेरि अन्तरवार्ता दिन आएको अनुभव पनि सुनिरहेको थिएँ । थुप्रै आवेदनकर्ताहरू भिसाबिना नै निराश भएर फर्किरहेका थिए ।
कसैकसैको भिसा प्राप्त भएको सूूचना पाए एकैछिन खुसीयाली, हलचल र बधाईको माहोल पनि सिर्जना हुन्थ्यो । पुनः प्रतीक्षाहल मौन र शान्त बन्छ । अमेरिकामा छोराछोरी भएका अभिभावकहरूका दुःखपीडामा पनि त्यहाँ देख्न पाइन्थ्यो । नातिनातिनी भइसक्दा पनि अमेरिका जान नपाएर मुख हेर्न नपाएको पीडा पनि धेरैको रहेछ । यस्तै यस्तै सुखदःुखका छलफल सुन्दै आफ्नो पालो कुरिरहेको थिएँ । क्रमशः १२ जना आवेदन कर्ताहरूको लगातार रिजेक्ट भएपछि बल्ल हाम्रो पालो आयो । त्यतिधेरैको भिसा रिजेक्ट भएको देख्दा मेरी श्रीमती समिता भिसा नलाग्ने हो कि भनेर चिन्ता व्यक्त गर्दै थिइन् । पाँचवटा कोठामध्ये अन्तिमबाट अन्तरवार्ताको लागि हाम्रो नाम बोलाइयो ।
पहिलो पटक विदेशीसँग अन्तरवार्ता दिन गएको, त्यो पनि अमेरिकी दूतावासमा । मनमा थोरै डर, चिन्ता र व्याकुलता भरिएको थियो । मेरो पुख्र्यौली घर धादिङ जिल्लाको ढोला गाउँ हो । आफूू हिन्दु धर्मावलम्वी भएका कारण आपत विपत पर्दा मैले त्यहाँ रहेको मण्डली थानलाई सम्झने गर्दथेँ । मनलाई एकाग्र गरी त्यहाँ पनि त्यसै गरेँ । छोरीज्वाइँको चाहना पूरा होस् भन्ने कामना थियो ।
एक जना महिला अधिकारी अन्तरवार्ता लिने कोठामा रहिछन् । उनले सोधिन् कुन भाषामा जवाफ दिनुहुन्छ ? मैले नेपाली भाषामा भनेर जवाफ दिएँ । ती महिला अधिकारीले स्पष्ट रूपमा नेपाली बोलेको देखेर म छक्क परेँ । उनको बोलीमा नेपालीले जस्तै स्पष्टता, कोमल स्वर र सम्मानपूर्वक व्यवहार गरेको देख्दा एकैछिन् हतोत्साही नै भएको भान भयो । पहिले नै डकुमेन्ट सबै कम्युटरमा पुगिसकेको हुनाले स्क्रिन हेर्दै ती अधिकारीले मेरो बारेमा जानकारी लिइन् ।
मेरो संलग्नताका क्षेत्रहरूको बारेमा प्रश्न राख्दै उनले सोधिन्– तपाई के गर्नुहुन्छ ?
मैले नेपाली काङ्ग्रेसमा जिल्ला सचिव र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेको उत्तर दिएँ । समसामयिक हुँदै साहित्य क्षेत्रको संलग्नताका बारेमा सोधिन्– तपाई लेख्नु पनि हुन्छ ?
मैले साहित्य, लेखरचना र केही पुस्तक प्रकाशन गरेको बारेमा बताएँ ।
उनले फेरि सोधिन्– अमेरिकाको विषयमा पनि लेख्नुहुन्छ होला ?
मैले हाँसेर मौनता साँधेर लेख्ने इच्छा भएको जवाफ फर्काएँ । अन्तिममा उनले सोधिन्– अमेरिका कति बस्नुहुन्छ ?
मैले भनेँ– यताको फुर्सद मिलाएर केही समय बस्छु । त्यसपछि मुस्काउँदै उनले भनिन्–‘वेलकम टु अमेरिका’ । उनले त्यहीँ भिसा दिएको जानकारी दिँदै दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा दुई हप्तापछि पासपोर्ट कलेक्ट गर्नुस् भनिन् । मैले धन्यवाद जाहेर गरेँ । अन्तरवार्ता सकेर बाहिर निस्कँदा सबैले भिसा पाएको जानकारी पाइसक्ने रहेछन् । प्रतिक्षारत सबैले मुहारमा खुसी व्यक्त गर्दै बधाई दिए । गेटमा कर्मचारीले पनि बधाई सुनाए । पाँच वर्षको मल्टिपल भिसा दिएको रहेछ । भिसा पाएकोमा निकै खुसी लाग्यो ।
हामी दुवै जना खुसी हुँदै बाहिर निस्कियौं । बाहिर मोटरसाइकल झिक्न पार्किङमा पुगें । तर हेलमेट रहेनछ । पार्किङमै हेलमेट चोरी भएछ । पार्किङस्थल पनि असुरक्षित । फोटो खिच्ने पसलमा हेलमेट राखेको पनि छुट्टै चार्ज तिर्नुपर्ने भएर पार्किङमै राखेको थिएँ । हेलमेट नभएपछि फेरि दूूतावासदेखि महाराजगन्ज चोकसम्म पुग्नुप¥यो । त्यहाँ गएर हेलमेट किनेर ल्याएपछि मोटरसाइकल लिएर निस्किएँ । आजको काम पूरा भएकोमा मनमनै खुसी थिएँ ।
दूूतावास वरिपरि सुरक्षा व्यवस्था एकदमै कडा गरिएकाले होला सायद भिसा आवदेन गर्न जाने नेपालीहरूको दःुख र सास्ती राम्रै छ । हामीकहाँ त्यस प्रकारको व्यवस्था नभएर हामी अभ्यस्त हुन नसकेका पनि हुन सक्छौँ । कडा व्यवस्था भएर पनि व्यवस्थित छ । बाहिर पार्किङ र सामान राख्ने ठाउँसम्म पनि उपलब्ध नहुँदा भने हैरानी हुन्छ । दूूतावासको माहोलमा पुग्दा अमेरिका नै प्रवेश गर्न लागेको जस्तो भान पनि हुन जान्छ ।
जे होस् भिसा प्राप्त भएपछिको एकछिनको खुसीयाली छुट्टै हुँदो रहेछ । आवेदन दिने धेरै नेपाली भिसा रिजेक्ट भएर फर्किंन्छन्, भिसा आवेदन र अन्तरवार्ता दिने नेपालीको लाइन लामै हुन्छ । विदेशी भूमिमा जान नेपालीलाई यत्रो सङ्घर्ष गर्नुपर्ने ! हाम्रो देशको दूूरावस्थाले गर्दा विदेशीले हामीलाई गर्ने व्यवहार पनि अलिक चित्त दुख्दो हुन्छ । उनीहरूले अलि हेय भावले हेर्छन् । यस्तो सचित्र देख्दा भित्रैदेखि मन कुँढिएर आउँछ । हिनताबोधको भावना आउँछ ।
आखिर देश बलियो नहुँदाको परिणाम त नागरिकले नै भोग्नुपर्दो रहेछ । फेरि हामी किन देशलाई सुन्दर र बलियो बनाउनतिर लागेका छैनौ होला भन्ने प्रश्नले मन कुत्कुत्यारह्यो घर नआइपुुगुन्जेलसम्म पनि । तर पनि आफ्नै सपनाको मूल्य, रहर, बाध्यता र विवशताका बिच अमेरिका यात्राको लक्ष्यले निरन्तरता पाइरहँदा नेपालीहरूलाई दूूतावासमा भिसा आवेदनदेखि नै सङ्घर्षपूर्ण बन्नु परेको कुराले भने अझै पिरोलिरहेको छ ।




