विचार

हिउँसँग स्पर्श

मानिस स्वभावैले प्रकृतिप्रेमी प्राणी हो । प्रकृतिमा रहेका विशिष्टताबाट सम्मोहित हुनु अनि त्यो मनोरम छटा हेरेर आनन्दित हुनु मानिसको आफ्नो विशिष्टता हो । प्रकृतिसँग जोड्रिएका अनेक पक्षमध्ये हिमपात पनि एउटा विशिष्ट उपहार हो । हिउँ हेर्न र हिउँसँग सामीप्यता साट्न धेरै व्यक्ति लालायित हुन्छन् । तीमध्ये म पनि एक पात्र हुँ । फाल्गुन महिना काम विशेषले म काठमाडौंमा थिए्ँ, केही थान कृति प्रकाशन गर्नका लागि । सबै कृतिको चाजोपाँजो मिलाएर हिउँलाई नजिकबाट नियाल्न र स्पर्श गर्नका लागि म र मेरा मित्र विक्रम बुढाथोकी शनिवार दोलखाको चर्चित कालिञ्चोकतिर लाग्यौँ । कुरी गाउँमा रातको बास बस्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम नै थियो । हाम्रो यात्राको थालनी भएको थियो– काठमाडौको रत्नपार्कस्थित पुरानो बसपार्कबाट । हामी साँझको बेलामा सार्वजनिक यातायातमा यात्रा गर्दै थियौँ ।

काठमाडौंबाट अरनीको राजमार्ग हुँदै एक सय तिस कि.मि.को दूरीमा दोलखा जिल्लाको सदरमुकाम चरिकोट पुगिँदो रहेछ । बसबाट ओर्लन नपाउँदै बास र खानाका लागि होटल व्यवसायीहरू निम्ता दिन आउँदा रहेछन्, बढो होहल्ला गरेर । रातभर बसको यात्रा । थकान त्यत्तिकै छ । बिहानको सात बजे चरिकोट बजारमा पहिलो पटक टेक्यौं । केही समय आराम गर्ने र बजार घुमेर दिउँसो अन्तिम गन्तव्य कालिञ्चोक भगवती पुग्ने गरेर एक होटलमा चार पाँच घण्टा बस्ने निधो ग¥यौं ।

स्थानीय बजारको घुमाइ र होटलमा खाना, खाजा तथा विश्राम गरी दिउँसो दुई बजे हामी चरिकोटबाट कालिञ्चोकतिर उकालो लाग्यौँ । यो यात्राको अन्तिम गन्तव्य पनि त्यही थियो । चरिकोट हेर्दा सानो ठाउँ रहे तापनि दिन प्रतिदिन सहरोन्मुख हुँदै गएको र पहाडको उच्चस्थानमा रहेका कारण सफा र शान्त देखिन्थ्यों । सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थली हुँदै दोलखाको तामाकोसी मोटरबाटो जोडिएपछि दोलखामा तराईका पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको कुरा हामीले त्यहीँ गएर थाहा पाएका थियौँ ।

हाम्रो यात्राको सहयात्री आत्मीय साथी विक्रम बुढाथोकी पनि पहिलो पटक चरिकोट झर्नुभएको थियो सायद । त्यस दिन हामीले चरिकोटबाट सिधैं कुरीसम्म जाने साधन पाएनौ र बसपार्कमा गएर देउरालीसम्म पुग्ने स्थानीय साधन प्रयोग ग¥यौं । पर्यटकको आगमनमा भएको वृद्धिले गर्दा स्थानीय साधन पाउन पनि मुस्किल । सदरमुकामको मूलबाटोबाट शाखा बाटो हुँदै हामीले यात्रालाई अघि बढायौँ । एकैछिनमा हामी आइपुग्यौं देउराली ।

स्थानीय साधन बाटोको दायाँबायाँ लामबद्ध छ । त्यहाँ स्थानीय चार पाँच वटा चिया, नास्ता खाने पसल रहेछ । पसलमा भिडभाड । चिया नास्ता गर्नलाई कुर्नुपर्ने । अन्यत्र भन्दा खानपिनका सामग्री महङ्गो नै थियो । देउरालीबाट कुरी गाउँ जानका लागि पनि बोलेरो जिप तयारी अवस्थामा थियो । कच्ची मोटरबाटो, हिलाम्मे तथा हिउँका थुप्राले गर्दा गुड्नका लागि जिपका पाङ्ग्रामा साङ्ला बेरिएको थियो, गुड्नलाई सजिलो होस् भन्ने हेतुले । जिपको हुट थिएन । उभिएरै यात्रा गर्ने भयौँ हामीले । जिप अगाडि बढ्यौं । उकालै÷उकालो बाटो ।

झोलुङ्गोमा बसेको बेलाजस्तै हल्लाइरहको छ । जिप नै अनब्यालेन्स भइरहेको छ । कहिले दायाँ, कहिले बायाँ कोल्टने निरन्तरताका कारण जिउनै सिरिङ–सिरिङ हुने अवस्थाको पनि सिर्जना भयो । एकैछिनपछि सिमसिम पानी प¥यो । हामीले जिपमा भएको त्रिपाल ओढ्यौं । पानीले गर्दा बाटो हिलाम्मे भई जिपको पाङ्ग्रा दबिन थाल्यो । जति बल गरे पनि पाङ्ग्रा झनै फस्न गयो । हारथाक भए चालक । हामी जिपबाट ओर्लियौं र सबै मिलेर आफैँ चढेको गाडी ठेल्न थाल्यौं । तर जिप टसमस नै भएन । एक जिपमा पछाडिपट्टि डोरी बानी तान्ने र पछाडिबाट मानिसले धकेल्ने गरेर जिपलाई दबदबे हिलोबाट निकाल्न सफल भयौं । चिसो ठाउँ भएर के गर्ने असिन–पसिन भएका छौं सबै जना ।

तपाईँका लागि हामीले काम मद्दत ग¥यौं । रातका लागि खानपिनको व्यवस्था गर्नुपर्छ है गुरूजी, भनेर हामीले जीप चालकसँग ख्याल, ठट्टा ग¥यौँ । गुरूजी लजालु स्वभावका थिए । उनी मुसुक्क हाँसे तर प्रतिउत्तर लगाएन । बाटोको प्रकृतिअनुसार जिप कुद्न सुरू ग¥यो । जति उकालो बाटो तय ग¥यो त्यति नै मात्रामा बाक्लो हिउ बाटोदेखि बोट–विरूवा नै ढाकेको देखिँदै छ । चिसोले मुटु नै काँपिरहेको छ । ठाउँ–ठाउँमा बाक्लो हिउँ र हिलाले गर्दा जिप उक्लन नसक्नाले धकेल्नुपर्ने अवस्था छ जताततै । जिउनै शिथिल भएको महसुस हुँदै छ । बाटोमा युवा, पुस्ताका जवानहरू बर्सादी ओढेर पैदल यात्रा गरेको देखिँदै छ । ती युवाहरूले हिउँका थुप्रामा लडिबुडी गर्दै तस्वीर खिचेको देख्दा हामीलाई पनि फोटो खिच्ने रहर पलाएर आयो । तर हामीलाई त्यसो गरेर मनोरञ्जन लिने समय साँच्चिकै अभाव थियो ।

साँझको छ बजे हामी आइपुग्यौं कुरी गाउँ । भिरालो ठाउँ स्विजरल्यान्डमा जस्तै काठले बनेको घर । रङ्गीचङगी जस्तापाता । घरका छतदेखि अाँगन, बाटो, डाँडाकाँडा सबैतिर सेताम्मे हिउँका बाक्ला थुप्रा–थुप्रै । मन नै आनन्दित हुने । स्वदेशी तथा विदेशी पर्यटकलाई चरिकोटबाट कुरी गाउँ १७ कि.मि.को दूरीमा छ । सल्ले, धुपी, लालीगुराँसको फूलले भरिएको जङ्गल छिछोलेर पुगिन्छ कुरी । खानपान र बासका लागि एकसय वटा जति सुविधा सम्पन्न होटल तथा लजको व्यवस्था गरेको रहेछ । आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टा–छुट्टै शुल्क निर्धारण गरेका रहेछन् होटल व्यवसायीहरूले । त्यहाँ स्वदेशी र विदेशी पर्यटकको घुइँचो बराबर जस्तै देखिन्थ्यों ।

पहिलो कुरी गाउँका स्थानीय बासिन्दा याक, चौरी, भेडा जस्ता पशुपालन गरी कष्टकर जीवन बिताउँथें । अहिले बाटोका साथै कालिञ्चोक रूटमा आवत–जावतले गर्दा सबै जसोले होटल व्यवसाय पेसा अपनाई सुखमय जीवन व्यतीत गरेका छन् । कुरी गाउँ तीन हजार तीन सय मिटरको उचाइमा रहेको छ । हिँड्नका लागि कुरी गाउँमा ढुङ्गा बिछ्याई छिडीको व्यवस्था गरिएको छ । हिँड्नको लागि सजिलो तुल्याएको छ । बाटैमै सेतो सानो गुम्बा देखियो । कुरी गाउँको वरिपरि स–साना चौरीगोठ पनि देखियो । साँझ प¥यो । बास बस्नै प¥यो । होलिडे इन कालिञ्चोक गेस्ट हाउसमा बस्यौं । सुविधा सम्पन्न होटल । सफा सुग्घर त्यस्तै । होटलका मालिकदेखि कामदार सम्म मिजासिला ।

होटलमा १ सय ९० जना गेस्ट अटाउने रहेछ । रातको खाना, दाल, भात, तरकारीसँग झानेको चौरीगाईको घ्यू स्वादले खाइयो । यस गाउँमा बिजुली बत्तीको राम्रै प्रबन्ध मिलाएको रहेछ । घरबाहिर बत्ती बालेका । उज्यालो चारैतिर । रातको समय कहाँ निदाउन सकिन्छ र ! घरबाहिर फुरफुराउँदो हिउँको वर्षा भएको छ । सबै पर्यटक होटलको अगाडि आगो तापेर नाचगान गरेर रमाइलो गर्दैछ । हिउँमा चिप्लेटी खेल्न बिछिट्टै रमाइलो । क्षणभरमै घरको छाना, अाँगन, बाटो र वरिपरि बाक्लो हिउँले ढाकेको छ । टेलिभिजनमा हामीले हेर्दै आएका स्विजरल्यान्डको झुल्को दिने दृश्य । मनै आनन्दित तथा प्रफुल्लित । मध्यान्ह १२ बजेपछि सुत्नका लागि कोठातिर लाग्यौं । निदाउन हर प्रयास ग¥यौं तर चिसोका कारण निदाउन सकिएन ।

आँखा चिम्लेर भएर पनि रात कटायौं । बिहानीको आगमन भयो । पलाञ्चोक भगवतीको दर्शन गर्न स्नान गरी चोखो हुनुपर्ने तर चिसोका कारणले नुवाई–धुवाई गर्न सकिएन । सामान्य हातखुट्टा, मुख र शौचालय गएर सामान्य रूपले चोखो भएको सम्झियौं । होटल सञ्चालक आफैंले तातो ब्ल्याक कफी कोठामै ल्याइदिनु भयो । साहुजीको आत्मीयतादेखि हामी धेरै प्रभावित भयौं । केही समय उहाँसँग यस क्षेत्रका बारेमा भलाकुसारी ग¥यौं । दर्शन गर्न निस्कन छ ।

कोठाबाट बिदा भएर निस्कियौं । सबैतिर सेताम्य हिउँका चुली÷घरको छत, अाँगन र बाटोमा हिउँ फ्याल्न स्थानीय लागेका छन् । हामीले कुरीको हिउँलाई पनि यात्रामा जोड्यौंँ । कुरीबाट अगाडि बढ्नासाथ याङडाँडा पुगियो । त्यहाँ पनि घरहरू बाक्लै छ । भिरालो ठाउँ । युवा पुस्ताहरू हिउँमा स्केटिङ खेलेर मज्जा लिँंदै थिए । यहाँबाट कालिञ्चोक भगवती मन्दिर जान पैदल हिँडेर एक घण्टाको समयमा पुगिन्छ । बाटो भने ठाडै उकालो रहेको छ । तीर्थयात्रीको सुविधाका लागि केवलकार सञ्चालन गरिएको छ ।

स्थानीय प्रविधिबाट निर्माण गरेको केबलकारको जम्मा ४५ करोड रूपैयाँ लागेको बताइन्छ । स्थानीय बासिन्दाको प्रतिव्यक्ति १० लाखदेखि एक करोडसम्म लगानी छ । एक कि.मि.को दूरीमा रहेको केबलकारमा चारवटा डब्बा छन् । एक डब्बामा १० जना यात्री बस्न मिल्ने छ । केबलकारको शुल्क आन्तरिक पर्यटकका लागि दुईतर्फी छ सय, विद्यार्थीका लागि तीन सय २० र बाह्य पर्यटकका लागि भारतीय नौ सय ५० तथा अन्यलाई एक हजार तीन सय रूपैयाँ लिने गरेको छ । केबलकारबाट ओर्लेपछि केही समय हिंँड्नुपर्दछ । मन्दिर जाने बाटो भिरालो छ । दायाँवायाँ फलामे रेलिङ राखिएको छ । भुइँभरि सेताम्मे हिउँले चिप्लेला भन्ने डर । रेलिङमा समाती डराई–डराई हिँड्नुपर्दछ ।

दशैं, जनैपूर्णिमा, नयाँ वर्ष तथा चैतेदशैंमा विशेष मेला लाग्ने गरेको यहाँ यस वर्षका प्रत्येक दिन एक हजार पाँच सयको हाराहारीमा पर्यटक आएको अनुमान गरिएको छ । उच्च ठाउाँ रहेको हुँदा यहाँबाट गौरीशङ्र, दोर्जी लाक्पा, जुगल, सगरमाथा, गुरूकारोराई, लोङपायन, लाङटाङ, भैरव टाकुरा जस्ता हिमाली दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ । गौरीशङ्र आरक्षण क्षेत्रअन्र्तगत पर्ने कालिञ्चोक प्रकृतिको मनोरम दृष्टिले भरिपूर्ण छ । कालिञ्चोक, सुनकोशी र तामाकोशीको उद्गमस्थल हो ।

थुम्कामा रहेको मन्दिर परिसरमा बाक्लो तीर्थयात्रीको आगमनले भिडभाड नै हुन्छ । छतबिनाको मन्दिरमा दर्शन गर्न तछाड–मछाड नै हुन्छ । भक्तजनद्वारा प्रायः त्रिशूल, घण्टी, ध्वजापताका चढाइन्छ भगवती देवीलाई । यहाँ कालिञ्चोक देवीका अलवा अन्य देवीदेवताका मूर्तिको पनि स्थापना गरिएको छ । मन्दिरको नजिक पाण्डव गुफा पनि रहेको छ । उच्च ठाउँमा रहेको ठाउँमा पानीले भरिएको एक कुण्ड पनि रहेको छ । त्यहाँ पानी कसरी आयो भन्ने विषय अचम्मित छ । उक्त पानीलाई जलको रूपमा प्रयोग गरिन्छ ।

मन्दिरमा पूजापाठ दर्शन गर्दा भुलबस कुनै केही सामान छोड्न गएमा लिन नहुने बताइन्छ । यदि उक्त सामान लिएमा जीवनमा दुःख निम्तन जाने भनाइ छ । मन्दिरको सामुन्ने स्थानीय उत्पादन छुर्पी, जडीबुटीको खरिद–बिक्री हुने गर्दछ । मन्दिर सामुन्ने स–साना ढुङ्गा प्रशस्त देखिन्छन् । त्यहाँ पुग्नेहरू पातलो र मसिनो ढुङ्गाहरूको खात खात बनाई घर जस्तो बनाउँछन् । त्यसो गरेमा आफ्नो जीवन लीला समाप्त भएपछि यही पुण्य भूमिमा आफ्नो आत्माको बास रहन जाने जनविश्वास त्यहाँ रहेको पाइन्छ ।

समुद्री सतहदेखि चार हजार आठ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा लेक लागेर सास फेर्न गाह्रो हुने साथै मान्छेहरू बेहोस हुने गर्दछन । यसबाट बच्न कागती, लसुन, अदुवा, टिमुरको प्रयोग गर्नुपर्दछ । नियमित जसो पर्यटकको आगमन भइरहने हुँदा त्यहाँ स्थायी रूपमा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यसतर्फ राज्यको ध्यान जानुपर्दछ ।

कालिञ्चोक देवीको उत्पत्ति र स्थापनाको सन्दर्भमा स्थानीय किम्वदन्ती पृथक–पृथक किसिमका छन् । त्यस भेगका एकजना गोठाले भेडा चढाउन जान्थे. । सदैव एक भेडा हराउँथ्यों र उसलाई अचम्म लाग्यो । भेडा कहाँ जान्छ निगरानी गर्न लागे । एउटा भेडा कालिञ्चोकतर्फ लागेको देख्यो । पिछा गर्दै जाँदा गोठालाले अनौठो दृश्य देख्यो । देवीले आफैं भेडाको बलि लिइरहेकी थिइन् । बलि लिएको ठाउँमा नै देवीको पुजाआजा गर्ने काम शुरू गरिएको स्थानीयको भनाइ छ ।

अर्को किम्वदन्तीअनुसार भगवतीलाई बलि दिन भनेर बाबु र छोरा गएछन् । पूजापाठका साथ बलि दिएछन् । उक्त क्षेत्र उचाइका कारण बेसरी हावाहुरी चलेछ । त्यहाँ लामो समय बस्न नसक्नाले मन्दिरबाट तलतिर र्ओर्लेछ । हतियार मन्दिरमै छाडेको याद आयो । बुबालाई त्यहाँ बस्न लगाई छोरा हतियार लिन गएछ । त्यहाँ छोराले अचम्मको दृश्य देखेछ । शर्रीरको आधा भाग मान्छे र आधा भाग पशु भएको अचम्मको जीवले हतियारमा लागेको रगत चाट्दै रहेछ । किन आएको ? भनेर त्यस जीवले सोध्यो । हतियार लिन गएको त्यस मान्छेले भन्यो– छुटेको हतियार लिन आएको हुँ । त्यसपछि त्यो जीवले भन्यो– लौ हतियार लिएर जाऊ । तर यहाँ तिमीले देखेको दृश्य कोही कसैलाई नभन्नु । यदि भनेमा तिम्रो मृत्यु हुनेछ । छोराले बुबालाई सबै कुरा बताएछ । तत्काल छोराको त्यहीँ मृत्यु हुन गएछ । केही वर्षअघि पनि एक दर्शालु हराएका थिए । धेरै पछि देवीको गुफाबाट निस्केको भन्ने भनाइ सुनिन्छ ।

धार्मिक मात्रै होइन पर्यटकीय दृष्टिकोणले पनि कालिञ्चोक क्षेत्र त्यत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्र उच्च ठाउँमा रहेको हुनाले मध्यान्ह अर्थात् १२ः०० बजेपछि स्याँठ (हावाहुरी) चल्ने हुँदा थामिएर बस्न हम्मे–हम्मे नै पर्ने हुन्छ । घाम लागेको समय वरिपरि लम्वेतान परेका सेताम्य हिमाली दृश्य आँखै अगाडि ऐना जस्तै देखिन्छ । आकाश खुलेको समयमा बादलको दौडादौडको दृश्य मनमोहक देखिन्छ । बिर्सन नसक्ने अद्भुत दृश्य अहिले पनि आँखै अगाडि सलबलाइरहेका छन् – रङ्गीन तस्विर सजिएर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *