संदीप लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले आठ वर्ष कैदको सजाय सुनाएपछि फेरि एकपल्ट तरंग आएको छ। कानुनी कुरा आफ्नो ठाउँमा छ, सन्दीप चुकेकै देखिन्छ। तर आफ्ना कारणले एउटी छोरीमान्छेको जीवन बर्बाद भइरहेको कुरामा हदैसम्मको अमानवीयता, असंवेदनशीलता र छलकपट ? संदीप लामिछानेको सबैभन्दा ठूलो गल्ती थियो।
यो घटना बाहिर आएयता गौशाला २६ ले गुजारिरहेको भयावह जिन्दगीप्रति हामी धेरैजसो पनि सारै असंवेदनशील बन्यौं। त्यतिमात्र नभई सन्दीप लामिछानेलाई यति धेरै हौसला दियौं, वाहवाही गर्यौं, त्यसले शायद उसलाई गलत बाटो समाइरहन थप प्रेरणा पनि भयो होला। गलत कामका निम्ति कसैलाई सचेत गराउनुसाटो उक्साइरहने हामी कतिपयको यो व्यवहारलाई दुरुत्साहन भन्न सकिन्न ? यस निम्ति हामीलाई सजाय कसले दिने ?
हाम्रो समाजमा एउटै कर्म गरेबापत छोरा र छोरीको जीवन कति फरक किसिमले प्रभावित हुन्छ, यसै घटनाले छर्लंग पारेको छ। हामी धेरैले सन्दीपलाई वाहवाही गर्दा गौशालालाई निरन्तर नरकतिर धकेलिरह्यौं र त्यसमा रत्तिभर दुःख मानेनौं, पश्चाताप गरेनौं।
मुलुकको एउटा प्रतिभाशाली युवक आफ्नो ऊर्जाशील उमेरमा यति लामो समय जेल जाने कुरा खुसी हुनुपर्ने कुरा पटक्कै हैन।
यस्तो नहोस् भविष्यमा भनेर सचेत रहौं। छोराहरुलाई जिम्मेवार बनाएर हुर्काउनेतर्फ विचार गरौं अब। हाम्रा छोराछोरी जोसुकै दण्डित हुँदा पनि चोट लाग्ने हामीलाई नै हो। तर सन्दीपलाई सजाय हुँदा पीडित हुने हामी कतिपयको चेतना गौशालाको चोटमा किन दुख्दैन ? प्रश्न यति मात्रै हो।
भविष्यमा, यो मुलुकका कुनै पनि छोराहरुलाई कुनै पनि छोरीमाथि यौन दुर्व्यवहार र अपराध गर्न अघि सर्दा यो नजिरले केही न केही झस्काउला नै ।




