डाक्टर सुरेन्द्र केसी नेपालका चर्चित बौद्धिक प्राध्यापक हुन् । उनी प्रसस्त बोल्छन् । आफ्नो विषयमा पनि बोल्छन् र समाजका अरू धेरै विषयमा बोल्छन् ।
मिडिया पाए भने जसले माइक तेर्साए पनि केसी प्रवचन दिन तयार हुन्छन् । उनकै भाष्यमा उनी धेरै सुनिने मान्छे हुन् । उनको यो दावी गलत छैन किनकि सस्ता मान्छेहरूलाई पनि धेरै मान्छेले सुन्न सक्छन्, चिन्न सक्छन् । जानेको विषयमा बोल्नु बौद्धिकको धर्म र कर्तव्य हो, तर जे विषयमा पनि बोल्नु जतासुकै बोल्नु, बौद्धिक विरासतको अवमूल्यन गर्नु हो ।
बोल्दा बोल्दा सार्वजनिक खपतको लागि जे पनि र जति पनि बोल्छन् केसीजी । केसीजीसँग उनको विषय र क्षेत्रमा यथेष्ट ज्ञान छ, साथसाथै अज्ञान छ,गलत ज्ञान छ र सतही ज्ञान पनि उत्तिकै देखिन्छ । उनी बौद्धिक अध्येता हुन् । तर मैले यस्तो सुने, मलाई मान्छेले यो पनि सुनाए भनेर आफ्नो तर्क राख्छन् र समाजमा आएका उडन्ते कुरलाई आधार मानेर निष्कर्ष सुनाउँदै हिँड्छन् ।
प्रा.डा. आफैमा प्राधिकार प्राप्त ब्राण्ड हो । डाक्टर सुरेन्द्रले त्यो ब्राण्ड कायम गर्न मुश्किल मानिरहेका छन् । एउटा बौद्धिक प्राध्यापक डाक्टर रिसर्चरले बजारमा आएका सतही आवाजलाई हतारमा आफ्नो आवाज दिने कि गम्भीर भएर विश्लेषण गर्दै,विवेचना गरेर तार्किक र खँदिलो निचोड निकाल्ने हो । चर्चा पाउनु र लोकप्रिय हुनु विश्वसनीय हुनु फरक कुरा हो । चर्चामा भेलु बाजे पनि छन् । तारा बरालं, सर्मिला वाइवा, मुकुन्द घिमिरे, पुन्य गौतम, दुर्गा प्रसाई, रणबहादुर चन्द, महेश बस्नेत, नरनाथ गौतम, ऋषि धमलालगायत अनेकौं अनेक छन् । कुरा तिनको पनि सुन्ने मान्छेहरू छन् । तिनका कुराले युटुबहरू चलेका छन् ।
तर समाजलाई तिनीहरूका गतिविधि र कुराले के दियो ? ज्ञान उत्पादन, वितरण र विस्तारमा कति सहयोग पुर्यायो ? समाजलाई मार्ग निर्देश गर्यो कि गतिछाडा,अभद्र र अशिष्ट र अराजक बनायो ? ३५ औं वर्ष प्राध्यापन गरेका समाज बुझेका देश विदेश डुलेका, धेरै पढेलेखेका डाक्टर सुरेन्द्र केसीलाई भेलु बाजेहरू झैं सस्तो मनोरञ्जनको लागि मात्रै बोल्न सुहाउँछ होला र ?
डाक्टर सुरेन्द्र केसीले (कार्की ) वितरण गरेको ज्ञान खोज र विश्लेषणलाई आजकलका सुपथ र सतही टिप्पणीले फिका बनाउँदै लगेको भान भएको छ । डाक्टर सुरेन्द्रमा एउटा औडाह, र हडबडाहट छ, सत्ता र शक्तिको अतृप्त भोक छ । म जति पढेलेखेको र ज्ञानी, शुद्ध र चर्चित मान्छे अर्को छैन भन्ने मीठो विभ्रम पनि छ ।
बौद्धिक र विज्ञको तागत र सामर्थ्य भाइरल दुनियाँको सिजनल भेलमा बग्नु र तुरुन्तै प्रतिक्रियात्मक बन्नु हुँदै होइन् । बौद्धिक र प्राज्ञले समाजमा जे आएको छ त्यो जस्ताको त्यस्तै सुनाउने कि फिल्टर गरेर योग्यतम कुरा मात्रै समाजलाई दिने हो ? डाक्टर साब भेलु बाजे होइन, त्रिभुवन विश्वविद्यालयको प्रोफेसर डाक्टर हो ।




