विचार

तिहार आउनै लाग्यो, किनमेल गर्न पैसाकै अभाव

तिहार आउन अब केही दिन मात्र बाँकी छ । तिहारमा किनमेल गर्न वा मनाउन पैसा आवश्यक पर्छ । एकातिर पैसा नभएर व्यापारीले तिहारको सामान हाल्न सकेका छैनन्, अर्कोतिर सर्वसाधारण तिहार मनाउन नसक्ने अवस्थामा पुगेका छन् । कतिपय मानिसहरू त पैसा नभएर दशैंमा समेत गाउँघर फर्किएनन् । पैसा हुँदाहुँदै पनि दशैं मान्न नसक्नु, गाउँघर फर्किन नपाउनु, पसलमा सामान हाल्न नसक्नु वा दशैं मान्न नपाउनुभन्दा अर्को दुर्भाग्य अरु के हुन सक्छ ? सहकारीले बचतकर्ताको खर्बौं रकम डुबाइदियो । जसले गर्दा पनि यो वर्षको दशैं अधिकांशको खल्लो हुन पुग्यो ।

सहकारीका सञ्चालकहरूले वर्षोदेखि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । उनीहरू ढाँट्ने र छल्ने मात्र काम गरिरहेका छन् । सहकारीले रकम खाइदिएपछि सर्वसाधारणले यसपटक दशैं–तिहारमा किनमेल गरेनन् । अहिले व्यापारीहरू भन्छन्, ‘नयाँ सामान हाल्न पैसा छैन । पुरानो पनि बिक्री भएको छैन ।’

सहकारीले बचत फिर्ता नगर्दा, काम गरेको ठाउँबाट तलब नआउँदा र व्यापार व्यवसायमा पूरै मन्दी आएपछि दशैंमा समेत अधिकांशले आफन्तसँग भेटघाट गर्न पाएनन् । किनकि उनीहरूले दशैं नै मनाएनन् । न एकजोर नयाँ कपडा किन्न सके, न एक छाक मिठो खान पाए । तिहारमा पनि यस्तै हुने भएको छ । दाजुभाइलाई टीका लगाइदिएपछि दिने सामान किन्न दिदीबहिनीसँग पैसा छैन भने टीका लगाएपछि दक्षिण दिन दाजुभाइसँग पनि पैसा छैन । यसपालिको तिहार मान्न सक्ने अवस्थामा छैनन् सर्वसाधारण ।

आर्थिक मन्दी र काम गरेको ठाउँबाट तलब नदिँदा जनता मारमा परेका छन् । अहिले जताततै सटर, कोठा र फ्ल्याट खाली देखिन्छ । जसोतसो पसल सञ्चालन गरिरहेकाहरू पनि तिहारपछि छोड्ने बताउँछन् । ‘दिनभरमा बोहनीसमेत हुँदैन । व्यापार हुँदैन । घरभाडा महँगो छ । अनि कसरी भाडा तिर्नु ? तिहारमा व्यापार हुन्छ कि भनेर बसिरहेका छौं । तिहारपछि त छोड्ने हो,’ उनीहरू भन्छन् । काठमाडौं उपत्यकाभित्रै टुलेट लेखिएको पोस्टरहरू पाइलैपिच्छे भेटिन्छन् । तर, भाडा सोधेमा मासिक एउटा कोठाको दश हजार, एक फ्ल्याटको तीस हजारदेखि दुई लाख र सटरको एक लाखदेखि नौ लाखसम्म रहेको जवाफ आउँछ ।

उपत्यकाभित्र होस् या बाहिर विभिन्न जिल्लाबाट आएर बसेकाहरू अहिले व्यापार व्यवसाय ठप्प भएपछि, काम नपाएपछि आत्तिएका छन् । उनीहरू खर्च कसरी धान्ने भनेर चिन्तित छन् । काठमाडौंको इन्द्रचोक, भोटाहिटी, चावहिल, बानेश्वर, ठमेललगायत स्थानमा अहिले पहिलाजस्तो चहलपहल छैन । व्यापारीहरू बाटोमा हिँडिरहेका व्यक्तिलाई पसलको ढोकामा बसेर सामान किन्न फकाइरहेका हुन्छन् । यो देख्दा मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर जोकोहीले अनुमान गर्न सक्छ ।

अहिले अधिकांश व्यापारीले अब व्यापार व्यवसाय चल्दैन भनेर थाहा पाइसकेका छन् । एक वर्षअघि मानिसहरूले बोराको बोरा चामल किनेर लग्थे । अहिले किलोमा लग्छन् । बजारमा माछामासु, दहीदूध र फलफूल पसलेहरू भन्छन्, ‘ग्राहक नै आउँदैनन् । आए पनि पहिला किलो लग्नेमा अहिले पाउ वा आधा लग्छन् ।’ बिगमार्केट, सुपरमार्केट, भाटभटेनीलगायत पनि सुनसान छ । हार्डवेयर पसल, लुगा पसल, दोहोरी साँझ, ब्युटी पार्लर, होटल, रेस्टुरेन्टहरूको पनि यही हालत छ । बैंक तथा वित्तीय संस्था पनि घाटामा गएको छ । बैंकमा बचत गर्नेभन्दा डिपोजिट निकाल्नेको भीड छ ।

पछिल्लो समय बजारमा घरजग्गा, गाडी र सेयर कसैले किन्दैन । यातायात र मालपोत कार्यालयमा चहलपहल छैन । सहकारीहरूले पनि कतिन्जेल बचतकर्तालाई झुटा आश्वासन देखाएर राख्ने ? बचत फिर्ता गर्न नसकेका अधिकांश सहकारीले बचतकर्तालाई आफ्नो संस्थाको नाममा धेरै घरजग्गा, गाडी र सेयर रहेको त्यही बेचेर भएपनि बचत फिर्ता गर्ने भनेर आश्वासन बाँडेका छन् । तर, अहिलेसम्म एक रुपैयाँ पनि बचतकर्ताको फिर्ता गरेका छैनन् ।

करोडौं बचतकर्ताको खर्बौं रकम सहकारीले डुबाइदिएको छ । मुलुकभर दर्तामा रहेकामध्ये धेरै सहकारी बन्द भएका छन् । बाहिर बोर्ड झुन्डिए पनि सहकारीहरू भने रातारात फरार भएका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्ने आधार नै छैन । सहकारी भन्छ, ‘हामी संस्थाको घरजग्गा, गाडी र सेयर बेचेर बचतकर्ताको रकम फिर्ता गर्छौं ।’ बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेपछि कतिपय मुलुकै छाडेर रातारात फरार भएका छन् भने कतिपयले आत्महत्याको बाटोसमेत रोजेका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र ठीकठाक छ भनेर जतिसुकै भाषण वा आश्वासन बाँडे पनि अब जनता पत्याउँदैनन् । जनताले सरकारलाई कर तिर्न छोडिसके । दशैंमा पनि सरकारले विदेशीसँग ऋण लिएर सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता र पेन्सन दियो । विदेशी ऋण २६ खर्ब पुगिसक्यो । नेपालको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ । यी सबै नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । सरकारले विदेशीसँग लिएको ऋणको साँबाब्याज तिर्ने आधार नै छैन ।

राज्यको ढुकुटीमा राजस्व संकलन हँुदैन । जसोतसो संकलन भएको राजस्वले सरकारी खर्च धान्दैन । अनि कसरी विदेशी ऋणको साँबाब्याज तिर्छ सरकारले ? हेर्दाहेर्दै बैंक, सहकारी र जनता सबै डुबेका छन् । राजनीतिक दल र सरकार भने अझै पनि जनतालाई ढाट्ने र अल्मल्याउने काम गरिरहेको छ । बजारमा महँगीले सीमा नाघेको छ । काम नपाएपछि मानिसहरू कोठाको सामान लिएर आफ्रनै घरगाउँ फर्किएका छन् । बाटोमा पनि मानिसहरूको चहलपहल निकै कम छ । साँझ ५ नबज्दै उपत्यका सुनसान हुन पुग्छ । मठमन्दिर, सडकपेटीहरूमा माग्ने मानिसहरूको संख्या बढ्दो छ । लुटपाट, चोरीजस्ता आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *