परम्परागत ज्ञानलाई महत्व दिएर जीवनमा पनि प्रयोग गर्नुको अर्थ आधुनिक चिकित्सा विज्ञानलाई नकार्नु चाहिँ पक्कै होइन । परम्परागत ज्ञान, वरिपरि भएका वनस्पतिहरुको उचित प्रयोग, आधुुनिक चिकित्सा विज्ञानको विवेकशील प्रयोग हुुनुुपर्छ भन्ने विचारसँग चाँहि म अहिले नजिक भएकी छु । ३६ वर्षअघि भर्खर डाक्टर भएर आउँदा मलाई लाग्थ्यो, ‘मभन्दा जान्ने कोही छैन ।
आधुनिक औषधिले जुन रोग पनि ठीक पार्न सक्छ । अस्पतालमा आएर उपचार गराएपछि त सबै ठीक हुन्छन् ।”
अनि हजुरआमाले भनेको कुरा ‘बेसार, तुलसी, पानी, टिमुर, मह आदिले स्वस्थ राख्छ । दहीले पेट सञ्चो गराउँछ । लसुन र मेथीको जाउलोले पखाला हुँदा औषधिको काम गर्छ,। बालबालिकालाई छातीमा तेल मालिस गरे फाइदा गर्छ’ भन्ने कुरा चाहिँ वाहियात हुन् जस्तो लाग्थ्यो ।
विस्तारै–विस्तारै संसारका विभिन्न ठाउँमा गएर काम गरेपछि, निम र बेसारका बारेमा गरेका अनुसन्धान र किताब पढेपछि मात्र मलाई बोध हुँदै आयो, मेरो ज्ञानको परिधि कति सानो रहेछ । निम, बेसार, तुलसी आदि घरआँगनका औषधिलाई हामीले हेला गरेका रहेछौं । हजारौं वर्षदेखिको वनस्पतीय ज्ञानलाई अपहेलना गरेका रहेछौं ।
काम गर्दै जाँदा अनुभव पनि बढ्दै गयो । सन् २०१७ मा एक पत्रिका पसलमा नेशनल जियोग्राफीको ‘प्रकृतिका उत्कृष्ट उपचार’ भन्ने पत्रिका देंखें । किनेँ, साँच्ची नै उत्तम पत्रिका रहेछ । यो किताबमा हामीले प्रयोग गरेका वनस्पतिको इतिहास, कहाँबाट आयो भन्ने कुरा पनि रमाइलोसँग लेखिएको थियो । यो अंक यति लोकप्रिय भयो कि नेसनल जियोग्राफीले सन् २०१९ मा पुनः यस पुस्तिकाको पुन विस्तृत मुद्रण गरेछ ।
‘नेसनल जियोग्राफी’ ले निकालेको ‘न्याचुरल होमरेमेडिज’ पुस्तक पनि किनें । संसारका विभिन्न देशमा भएका वनस्पतिहरुको चिकित्सकीय महत्वका बारेमा लेखेको यो किताब पढेपछि मलाई लाग्यो हाम्रा पुर्खाहरुलाई यसरी वनस्पतिको विज्ञानको ज्ञान नभए पनि तिनै वनस्पतिलाई जीवनमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान त रहेछ । त्यो किताबमा लेखेको कतिपय वनस्पतिलाई अहिले त क्याप्सुल बनाएर पनि बेचिन्छ ।
अदुवाले वाकवाकी रोक्ने काम पनि गर्छ । गर्भवती महिलाई एक टुक्रा अदुवा मुखमा हालिराख्न सल्लाह दिइन्छ । लामो यात्रामा जाँदा त म केही टुक्रा अदुवा त सँगै लैजान्छ । केही वैज्ञानिक अध्ययनले देखाएका पनि छन् कि क्यान्सरको बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ, अदुवाले त्यो वाकवाक केही कम गर्न सक्छ ।
हामीले बिहान उठ्नेबित्तिकै पिउने चियाको इतिहास र महत्वको बारेमा प्रायः वास्ता गरिन्न । चिया चाइनामा ५,००० वर्षअघि आविस्कार भएको थियो भन्ने किवंदन्ती पनि छ । यी किताबमा लेखिएअनुसार १२०० शताब्दीमा चिया जापानमा फैलियो अनि १६०० शताब्दीमा युरोपमा चिया आयो ।
नेपालमा चिया प्रायः दूधमा पकाएर खाइन्छ । युरोपमा चाहिँ दूध नहालेर खाइन्छ । चियाको गुणलाई बुझेर होला, चियापत्तीसमेत अहिले क्याप्सुलमा बन्छ ।परम्परागत ज्ञानमा बेसारको प्रयोगले स्वास्थ्यमा धेरै टेवा पुर्याउँछ । रोगसँग लड्न क्षमता प्रदान गर्छ भन्ने पनि ज्ञान दिएको छ । बेसार, मरिचको र टिमुरका बारेमा वैज्ञानिक अनुसन्धान पनि भएकोले तिनको हँसी उडाउनुपर्ने जरुरत छैन । ‘टिमुरले रोगसँग लड्ने शक्ति दिन्छ, लेक लाग्नबाट रोक्छ’ भन्ने परम्परागत ज्ञानलाई अहिले विज्ञानले सिद्ध गरेको छ । पुर्खाको विश्वासलाई त विज्ञानले मानेछ ।
विश्व स्वास्थ्य संघले पनि परम्परागत ज्ञानको महत्व स्वीकार गरेर बालबालिकालाई खोकी लाग्दा मह र अदुवाको रस दिन सकिन्छ र साधारण समस्यामा घरेलु औषधिद्वारा नै ठीक पार्न सकिन्छ भनेर स्वीकार पनि गरेको छ ।
केवल आधुनिक औषधि अस्पताल र डाक्टरहरूले मात्र स्वास्थ्य राम्रो पार्न भूमिका खेल्ने होइन, परम्परागत ज्ञान, जस्तो– तेल लगाउनु सुत्केरी र बालबालिकाको स्वास्थ्य राम्रो पार्ने उपाय हुन् । विदेशमा ‘मसाज’ भनेर धेरै पैसा तिर्नुपर्छ, हामीकहाँ हजुरआमाले मालिस गर्दा अपहेलना हुन्छ । यस्ता सामान्य कुराबाट पनि थाहा हुन्छ कि पुर्खाको प्रत्येक ज्ञानलाई हँसीको पात्र बनाउनुपर्दैन ।
त्यसैगरी, महिला स्वास्थ्यका लागि उत्तम केही प्राकृतिक औषधिहरुका बारेमा पनि परम्परागत ज्ञान प्रयोग गरिन्छ । तर, त्यसको वैज्ञानिक महत्व चाहिँ के छ भन्ने विचार नै गरेका रहेनछौं । भटमास, दहीले महिलाहरुको स्वास्थ्यमा योगदान पुर्याउँछ भनेर यसलाई दैनिक भोजनमा प्रयोग गर्नुपर्छ ।




