विचार

कहिले आउँला मलाई लाने जहाज?

सात वर्ष पूरा भएछ सपनाको शहर काठमाडौंमा बस्न थालेको पनि । मेरो कल्पानाको राजधानी भन्दा धेरै फरक रहेछ काठमाडौं ।

काठमाडौंको बसाइ हरेक दिन अभावमय बन्दै थियो। हरक्षण, हरपल सपनाका झकेटाहरुले दिलभित्र बबण्डर मच्चाइरहन्थे ।

प्लस टु सकेर जसोतसो एउटा जागिर पाएको थिए त्यही जागिरको भरमा आजसम्म गुजारा चलाउदै आएको छु ।

मध्यमबर्गिय परिवारमा हुर्किएको हुनाले परिवारको ब्यथा एकातिर अनि जिन्दगीले एउटा लय समाउन नसक्दाको छटपटी अर्कोतिर ।

आफू संगै पढेका र हुर्किएका साथिहरु कोहि बिदेश पलायन भएर घरपरिवारमा खुशी छरिरहेछन् त कोहि यतै ब्यबसाय गरेर जिवन धानिरहेका छन् ।

मेरो परिवारमा न त लगानीको राम्रो बाताबरण थियो न त उत्कृष्ट बिचार । थियो त, केबल माटोको घरलाइ प्लाष्टरले लिप्ने।

जिन्दगीका अनेकौ मोडमा कयौंपटक बिदेश जाने इच्छा र रहर नभएका भने होइनन् कति म्यानपावरलाइ पासपोर्ट नबुझाएको पनि होइन, भाग्य उस्तो हो कि, आफ्नो परिश्रम उस्तो हो, कतैबाट सोचेजस्तो परिणाम भने आएन ।

सांझपख घरको बार्दलिमा गएर हेर्दा मेरा साथिहरु दिनदिनै उडेका प्लेन मेरै घरमाथिको आकाशबाट उडेका देख्थे अनि मनमनै कल्पना गर्थे, आखीर कहिले आउँला त मलाइ लाने त्यो जहाज ? आफू भित्र आँफैलाइ प्रश्न गर्थे, अनि आफै अनुत्तरित भएर उदासिन मुख लिएर कोठामा फर्कन्थे ।

पचास हजार सहकारी बाट ॠण निकालेर बुवाले जोडिदिएको कोठाको सामान बाहेक अहिलेसम्म एउटा नयाँ चम्चा पनि फेर्न नसकेको मैले घरलाइ महल बनाउने सपना चाहिँ दिनको धेरैचोटी देखेँ ।

घरमा जाँदा ‘तेरो फलानो साथिले यति कमायो हाम्रो केही छैन, अब सिङ्ग आउदैन जुरो पलाउदैन’ भन्ने बुवाको त्यो पेचिलो प्रहारले मुटु गाँठो पार्थ्यो।

हुन पनि आफ्ना छोराछोरीको प्रगती हेर्ने रहर कुन बुवाआमा लाई हुदैन र ? धनमै मात्र प्रगती देख्नु पनि गलत हो भन्ने सोच्दथे, मैले अनि सम्झाउथे बुवालाई ।

‘पख्नु न, कोसिस गर्दैछु एकदिन अबश्य केही गर्छु’ तर त्यो दिन कहिले हो आफैलाइ थाहा थिएन ।

नेपालमै केही गर्ने बिचार पनि आउथ्यो तर शास फेर्दा पनि पैसा तिर्नुपर्ने काठमाडौमा मसँग ब्यबसायी बन्ने पैसा पो कहाँ थियो र ?

चुनाब पिच्छे देशमा युबा स्वरोजगारका एजेन्डा बोकेर झण्डा हल्लाउदै नेताहरु धेरै पटक मेरो आँगनमा आए ।

भोट नपाउन्जेल पाउ पर्नेहरु जितेको भोलिपल्टदेखि हामीलाइ चिन्न छोडथे । हामी जस्ता सावा अक्षर मात्रै चिनेका युबाको भबिष्य कता ? यो प्रश्न को उत्तर कस्ले दिन्छ ?

के सधै बिदेशमा समाहित भएर धन कमाउने आशमा हामीले आफ्नो ज्यान विदेशी भूमिमा सुम्पिनै पर्ने हो र ? कतिन्जेल हाम्रो बलि चढाएर नेतृत्वमा पुग्नेहरुले भोग खाने हो ?

आखिर किन सबै मौन छन् यो विषयमा बोल्नलाइ?

सरकार, राजनितिक दल, यो देशले किन बुझ्दैन नेपालमै भबिष्य खोज्दै गरेका युबालाई ? धन कमाउने, विदेश बस्ने चाहिँ इज्जत भएको मान्छे, अनि धन नकमाउने नेपालमै बसेर आफ्नो जिवीकोर्पाजन गर्ने व्यक्ति चाँहि इज्जत नभको मान्छे हो र ? यी मेरा प्रश्नको उत्तर दिनुस् कसैले ।

जबसम्म प्राबिधिक र उत्पादनमुलक ब्यबहारिक शिक्षा लागू हुदैन तबसम्म हामी युबा अन्धकारमै भबिष्य खोजिरहनुपर्छ ।

अझै पनि घरमाथीबाट उड्ने प्लेनले झस्काउछ बारम्बार । मलाई पनि यो स्वर्ग जस्तो देश छोडेर जानुपर्ने त होईन?

अनि सोच्न थाल्छु, एकदिन त अबश्य गइन्छ, इकोनोमिक्स क्लास को त्यो झ्यालबाट कफि पिउदैँ सगरमाथा को उचाइ अनि केचनाकवलको गहिराइ हेर्दै हावाको वेगमा उडदै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *