पोखरा । नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट आर्थिक सुधार र शिक्षित एवं स्वस्थ्य नागरिक निर्माणको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
हालैको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी लगातार ३ पटक महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति हुन् ।
२०२४ साल पुस २ गते कास्कीको मादी गाउँपालिका–३ मा जन्मिएका रानाभाटले कानूनमा स्नातक (बीएल) गरेका छन् । पोखराकै पृथ्वीनारायण क्याम्पसमा बीएल अध्ययनपछि उनले ३ वर्षसम्म सर्वोच्च अदालतमा अधिकृतका रूपमा सरकारी सेवा गरे ।
सरकारी जागीरमा मन नजमेपछि उनी त्यो सेवा छाडेर व्यवसाय र राजनीतिमा सक्रिय भए । यसले उनलाई सरकारी संयन्त्रले कसरी कार्यसम्पादन गर्छ भन्ने मज्जैले सिकायो ।
रानाभाटको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै शुरू भएको हो । पञ्चायतकालमा स्कूल पढ्दादेखि नै विद्यार्थी संगठन निर्माणका क्रममा सक्रिय रहेका उनले पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरे ।
‘स्कूल पढ्दादेखि नै राजनीतिमा लागेको हुँ, पञ्चायतको समयमा सत्ताको विरोध गर्दा ज्यानकै जोखिम हुन्थ्यो, त्यस्तो बेला पनि क्याम्पस पुगेर संगठन बनाउने काम गरियो’ उनले विगत सम्झँदै भने । पार्टीभित्र उनले १३ औँ महाधिवेशनमा गठित केन्द्रीय अर्थ समितिको सदस्य र २०७१ मा नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमासमेत काम गरे ।
राजनीतिसँगै वैदेशिक रोजगार व्यवसायीका रूपमा पनि रानाभाटको लामो अनुभव छ । उनले २०६३ माघमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको स्थापना गरी संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको चाहना अनुसार उक्त संस्था स्थापना भएको थियो । त्यसैगरी २०६५ सालमा उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्ष बनेर श्रमिक र व्यवसायीको हितमा काम गरेको बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन आफूले लामो समयदेखि पहल गर्दै आएको उनको दाबी छ । नेपालमा रोजगारी र आम्दानीको सम्भावना नदेखेका युवाहरूलाई विदेश पठाएर रेमिट्यास भित्र्याउँदा आफूलाई हर्ष नै महसुस भएको उनको भनाइ छ । भन्छन्, ‘मैले व्यावसायिक जीवनमा कहीँ कसैसँग विश्वासघात गरेको छैन । यही नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।’
तिलक गार्मेन्ट उद्योगमा समेत आबद्ध छन् । उनले सञ्चालन गरेका प्रतिष्ठानहरूमा ६० जना भन्दा बढीले रोजगारी पाएका छन् । रानाभाट २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए ।
२०७४ को आम निर्वाचनका बेला पनि उनको नाम चर्चामा आएकै थियो तर आरक्षणका लागि साथीहरूलाई छाड्नु पर्ने भएकाले उनी पछि हटे । अनि केन्द्रीय निर्वाचन परिचालन समितिले उनलाई म्याग्दी जिल्लामा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएर पठायो ।
सो क्रममा १९ दिनसम्म जिल्लाका विभिन्न ठाउँमा पुगेर उनले तोकिएको सांगठनिक जिम्मेवारी पूरा गरेका थिए । केन्द्र,जिल्ला र क्षेत्रले विभिन्न समयमा दिएका जिम्मेवारीलाई पूर्ण रूपमा सम्पन्न गरेको अनुभव आफूसँग रहेको उनी बताउँछन् । रानाभाट हाल कास्की क्षेत्र नम्बर १ मा आफ्नो पक्षमा जनमत पार्न घरदैलो अभियानमा व्यस्त छन् ।




