काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का चर्चित अनुबन्धमध्ये एक, दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डु प्लेसिस भोलि सोमबार नेपाल आउने भएका छन्। उनी विराटनगर किंग्सले अनुबन्ध गरेका विदेशी खेलाडीमध्ये प्रमुख हुन्।
विराटनगरले हालसम्म पाँच खेल खेलेको छ, तर डु प्लेसिस कुनै खेलमा उपस्थित भएका छैनन्। उनले इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सिजनको अक्सनमा सहभागी नहुने निर्णय गरेपछि एनपीएलमा पनि नआउने हो कि भन्ने आशंका समर्थकमाझ देखिएको थियो।
डु प्लेसिस अहिले अबुधाबी टी–१० लिग खेलिरहेका छन्। उनी सम्मिलित टोली प्रतियोगिताबाट बाहिरिएसँगै अब नेपाल आउने अवसर खुला भएको हो। विराटनगर किंग्सका म्यानेजर विजय धितालका अनुसार डु प्लेसिस आगामी खेलदेखि टोलीमा सामेल हुनेछन्।
धितालका अनुसार उनी सोमबार नेपाल पुग्नेछन्। विराटनगरले बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ, र सम्भावना छ—डु प्लेसिसले यही खेलबाट एनपीएलमा डेब्यु गर्नेछन्।
यस्तै, घाइते भएर दुई खेल गुमाएका मार्टिन गप्टिल पनि पुनः फिट भएका छन्। शुरुआती तीन खेल खेलेका गप्टिल आरामपछि लुम्बिनीविरुद्धको खेलमा फर्कने म्यानेजर धितालले बताए।
पाँच खेलबाट ८ अंक जोडेको विराटनगर किंग्स प्लेअफ नजिक पुगेको छ।




