संसद

सिंहदरबार जलाउँछु भन्ने र खुकुरी हान्नेलाई कारबाही गर्नुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति निन्दा गर्दै उनले सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकतावद्ध भएर अघि बढन आग्रह गरे ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मुलुकमा बढ्दो अराजकतालाई अन्त्य गर्न लागि नपर्ने हो भने कुनैपनि बेला असुरक्षाको स्थिति भोग्नुपर्ने अवस्था आउनेतर्फ उनले सरकार र राजनीतिक दलहरुलाई सचेत गराए ।

सांसद पौडेलले सहमहामन्त्री यादवको सांघातिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानूनी दायरामा ल्याउन सरकारलाई दबाब दिए ।

उनले भने, ‘यस प्रकारका अराजक क्रियाकलापलाई रोक्न निम्ति राज्यका सम्पूर्ण निकाय, राजनीतिक दलहरुले गम्भिरतापूर्वक सोचेर यस प्रकारका प्रवृत्तिलाई निरुत्साहित गर्ने र अझ घोषणा गर्दै हिँड्ने जसलाई भेट्यो, उसैलाई आक्रमण गर्छौं भन्ने, सामाजिक सञ्जालमा बोल्दै हिँड्ने, सामाजिक सञ्जलामा भन्दै हिँड्ने र त्यो प्रकारको प्रवृत्तिलाई प्रोत्साहन गर्दै हिँड्ने, त्यसैमाथि हामा हाँ गरेर अगाडि बढने प्रवृत्तिलाई पनि हामीले निरुत्साहित गर्नैपर्छ ।

त्यसो गर्न सकिएन भने समाज समाज राज्य विहीन अवस्थामा जस्तो अराजक भएर जान्छ । र, मानवताको मृत्यु हुन्छ । त्यसो भएको हुँदाखेरी यस प्रकारका प्रवृत्तिहरुको हामीले नियन्त्रण गर्नका लागि यहाँ राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, पत्रकार लगायत सम्पूर्ण पक्षहरु एकजुट भएर यो प्रवृत्तिलाई निषेध गर्नका निम्ति हामी एकतावद्ध भएर अघि बढ्नु आजको इतिहासको आवश्यक्ता हो ।

हामीले यसो गरेनौं भने आखिरी को, कहाँनेर के काममा हिँडदा ऊसको जीउज्यान असुरक्षित हुने हो ? भन्ने कुरा यस प्रकारको घटनाहरुले बताईरहेको छ । त्यसकारण यस प्रकारको अपराधिक क्रियाकलापमा सहभागी भएका व्यक्तीहरुलाई त्यस्ता व्यक्तिको पछाडि अरु व्यक्ति वा शक्ति सहभागी छ भने पनि उनीहरुलाई समेत राज्यको कानूनी प्रक्रियाभित्र ल्याउनका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद पौडेलले पाँच वर्षीया बालिकाको उपचार नपाएर कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरप्रति दुःख व्यक्त गर्दै सो अस्पतालको सुधार गर्न पनि सरकारलाई सुझाव दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *