देश

कहिले सुधार होला सातदोवाटो गोदावरी सडक ?

ललितपुर । गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्दछन् । उनले दैनिक यसरी आवतजावत गर्दा पानी गर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ । कोरोनाको जोखिम बढ्दो छ । सडकको अवस्थाले उनलाई घरबाट बाहिर निस्कन दिक्क लाग्छ ।

यसैगरी गोदावरी वडा नं ४ बडिखेलका पुरुषोतम आचार्य पनि दैनिक घर र कार्यालय गर्दछन् । यहाँले पनि सोही सडक खण्ड भएर यात्रा गर्नुपर्ने हुन्छ । अर्को मार्ग अपनाएर हिड्दा लामो दूरी पार गर्नुपर्ने भएकाले उनि सधै यसै सडकको प्रयोग गर्न बाध्य भएका छन् । आफ्नै साधन प्रयोग गरेर हिड्दा समेत सडकमा खाल्डाखुल्डी भएका कारण धैरै पटक आफू चिप्लिएर लडेको उनले बताए । ‘कति पटक हिलाम्मे सडकमा लडिसके । कुनै दिन यस्तै गरी चिप्लिएर अन्य सवारीसाधनसँग ठोकिएर ठुलो दुर्घटनामा परिएला भन्ने डर लागिरहन्छ ।’

उनले सातदोवाटोदेखि बडिखेल आउन लगभग ११ किलोमिटर सडक पार गर्नुपर्छ । सो सडक अस्तव्यस्तताका कारण यती दूरीको यात्रा छिचोलेर हिड्न पनि उनलाई समस्या भइरहेको छ । लामो सयम सडक जाममा परेका बेला सुस्केरा हाल्दै उनले प्रश्न गरे, ‘खोइ, कहिले बन्ला यो सडक ?’ त्यसैगरी वडा १४ बाडेगाउँका गोविन्द महर्जन पनि यस सडक पार गरेर दैनिक आफ्नो व्यवसाय सम्हाल्न हिड्दछन् । पाका उमेरका उनलाई समय समयमा औषधिउपचार लगायत काममा खटिरहनुपर्ने कारण दुई पाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न ग्राहो हुने त चार पाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा उफ्रिएर पेटको लाम्टानै चुड्डेला जस्तो भएर कयौँ दिन ओच्छान पर्ने गरेको दुःखेसो गरे ।

उनिहरु त यस सडक खण्ड यात्रा गर्ने एक प्रतिनिधि पात्र मात्रै हुन । उनिहरु जस्तै अन्य मानिसले हरेक दिन यस सडक भएर खाल्डाखुल्डी, हिलो र जामको सामना गर्दै हिड्न बाध्य भइरहेका छन् । ती सङ्ख्याका यात्रीमा केहीमा दीर्घ रोग त कोही गर्भवती अनि केही सुत्केरी समेत हुने हुँदा यस्तो अवस्थामा यस्तो सडकमा कसरी उफ्रिएर हिड्न बाध्य भएका होलान ? यो कुरा कल्पना समेत पनि गर्न सकिँदैन ।

सातदोवाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तिवन माथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन रहेको छ । गत असोज १५ गतेदेखि यथाअवस्थामा सडक कालोपत्र गर्ने भनिएर हरिसिद्धिको मुल सडक निर्माणको काम भइरहेको छ । सो सडकमा ढल निकास र नाली व्यवस्थापनको काम भइरहँदा यसले समेत यात्रीलाई हिलो र धुलोको समस्या बढाइरहेको छ ।

सो क्षेत्रमा ढल खनेर पाइप विच्छाउने र मंगाल बनाउने काय जारी रहँदा यो कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको बताए । उनले भने, ‘हामीले एकतर्फ यी काम अघि बढाइरहेका छौँ भने अर्कोतर्फ दिनभरी यात्रा गर्ने सवारी साधनले आउने र जाने क्रम काम ढिलाइ भइरहेको छ ।’

सडकमा ढल खनेर पाइप राख्ने र मंगाल हाल्ने काम भइरहदा हिलोको कारण कयौँ यात्री लड्नुका साथै सवारीसाधन पनि हिलोमा फसेर निकाल्नु परिरहेको उनको भनाई छ । मंगाल बनाउन खनिएको प्वालमा आज बिहानमात्रै एक सवारीसाधन फसेर झिकेको बताइएको छ । हाल निमाणाधीन सो सडकको काम समाप्त गर्न अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन सडकमा रोडा हाल्दा हिलो माथी माथी आएर साना गाडीको तुलनामा ठुलालाई यात्रा गर्न कठिन भइरहेको छ ।

ढल निकासको काम बेलुका गर्न नमिल्ने र उज्यालोमा नै गर्नुपर्ने सम्बन्धित व्यक्तिको भनाइ छ । यसका साथै ठैव, बाडेगाउँ, टौखेल हुँदै गोदावरीसम्म पुग्न चार वर्ष अघिदेखि यहाँका यात्रीलाई कठिनाइ भइरहेको छ । सातदोवाटो गोदावरी क्षेत्र चल्ने सावरीसाधनका साथै यस भेगमा रहेका घरहरु पनि आजभोेली सडकका कारण हिलो र धुलोले हेर्न नहुने भइरहेका देखिन्छन् । सो क्षेत्रको सडक कहिले मर्मत, सुधार र कालोपत्र हुन्छ भन्ने कुराको जानकारी कसैलाई पनि छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *