काठमाडौं । भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यन्वयन गर्न भन्सार विभाग र कृषि मन्त्रालय मातहतको दुई विभाग तथा एक कार्यालयबीच आइतबार कृषिमन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भन्सार विभागका महानिर्देशक सुमन दाहाल र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाई, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र खाद्य तथा गुणस्तर विभागका महानिर्देशक उपेन्द्र रायले समझदारी पत्रमा हस्ताक्षर गरे ।
कृषिमन्त्री अर्यालले कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने बताइन् । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उनको भनाइ थियो ।
कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रबहादुर कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताए । सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने भन्दै उनले प्रविधिको उच्चतम् प्रयोग अहिलेको आवश्यकता भएको औंल्याए । एकद्वार प्रणाली कार्यान्वयन आयोजनाकोतर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताए ।




