प्रविधि

दूरसञ्चार प्राधिकरणद्वारा ११ विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना

गलकोट। बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यहाँका ती विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । प्राधिकरणले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययनअध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेटलगायत आवश्यक उपकरण प्रदान गरेको छ ।

ती विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको प्राधिकरणले जनाएको छ । बागलुङ नगरपालिकास्थित रुद्रेपीपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भीमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्यलक्ष्मी मावि रिघामा कम्प्युटरसहित अन्य प्राविधिक सामग्री जडान गरिएको छ ।

बडिगाड गाउँपालिकाको त्रिभुवन मावि खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय मावि, तमानखोला गाउँपालिकाकोे सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माविलाई प्रविधिमैत्री विद्यालय छनोट गरी पूर्ण प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर प्रयोगशाला जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाई सिकाइलाई प्रभावकारी बनाउन धिकरणले भीमसेन माविसहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टरसहितका प्राविधिक सामग्री सहयोग गरेको भीमसेन माविका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिए ।

“अहिले प्राविधिक रुपमै शिक्षा दिने प्रचलन बढ्दो छ, त्यसैले देशभरका विद्यालयलाई सहयोग गर्ने अभियान अन्र्तगत दूर सञ्चार प्राधिकरणले जिल्लाका ११ विद्यालयमा कम्प्युटर प्रयोगशालासहित प्राविधिक सामग्री सहयोग गरेको हो”, उनले भने, “उक्त सामग्रीले विद्यालयमा कम्युटर शिक्षा तथा प्रविधिको माध्यमबाट इन्टरनेट तथा मल्टिमिडिया प्रणालीबाट अध्ययन अध्यापन गराउन सकिनेछ ।” प्रयोगशाला स्थापनापछि विद्यार्थीलाई अध्यापन गराउन सहज हुने रुद्रेपीपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष २०७६-०७७ मा विनियोजन गरेको बजेट कोरोनाका कारण २०७७ साउनमा मात्रै कार्यान्वयनमा ल्याइएको प्राधिकरणका  उप-निर्देशक अच्युतानन्द मिश्रले जानकारी दिए। देशैभरबाट छनोट गरिएका विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि ओबिसिआई-म्याक्स-नेपा जेभीले टेण्डरमार्फत विद्यालयमा कम्प्युटरलगायत उपकरण जडान गरेको कम्पनीका प्रतिनिधि वतेश न्यौपानेले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *