इनरुवा। सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति याम प्रधानको निधन भएको छ। मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका ५२ वर्षीय राससकर्मी प्रधानको आफ्नै निवास इटहरीमा निधन भएको हो । सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित इटहरीका पत्रकार प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत थिए ।
प्रधान राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता समेत थिए। प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए ।
प्रेस युनियनमा समेत आबद्ध प्रधानले लामो समयदेखि घरमै उपचार गराइरहेका थिए । उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पत्रकार महासङ्घ सुनसरी शाखाले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताए । महासङ्घका अनुसार आज बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिएकाे छ । प्रधानका एक छोरी र श्रीमती छन ।




