खेलकुद

अपराजित सुदूरपश्चिम क्वालिफायर–१ मा, विराटनगर पनि प्लेअफ सुरक्षित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम ड्रागन्सले उत्कृष्ट लय कायम राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार छैटौँ जित दर्ता गर्‍यो।

१२ अंकसहित शीर्ष–२ मा स्थान पक्का गरेका सुदूरपश्चिम अब क्वालिफायर–१ मा खेळ्नेछ। चितवनका लागि भने चौथो हारसँगै प्लेअफ यात्रामा थप चुनौती बढेको छ। ६ खेलपछि ४ अंकमा रोकिएको चितवन छैटौँ स्थानमा छ।

विराटनगरको पनि प्लेअफमा प्रवेश

सुदूरपश्चिमको जितसँगै तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले पनि एक खेल बाँकी रहँदै प्लेअफ सुनिश्चित गरेको छ। ६ खेलबाट ८ अंक जोडेको विराटनगरलाई अब लुम्बिनी लायन्सबाहेक अन्य टोलीले धरापमा पार्न नसक्ने भएपछि उनीहरूको स्थान पक्का भएको हो।

यसैबीच पोखरा एभेन्जर्स र चितवनको हारले लुम्बिनी लायन्सलाई अवसर दिएको छ। लुम्बिनीले शुक्रबार जनकपुरलाई हराए प्लेअफमा प्रवेश गर्नेछ।

खेलको विवरण

पहिले ब्याटिङ गरेका सुदूरपश्चिमका क्रिस लिन चम्किए। नियमित ओपनर जोश ब्राउनलाई विश्राम दिएपछि ओपनिङका लागि आएका लिनले ५६ बलमा ७५ रन बनाए—५ चौका र ३ छक्कासहित। उनी १७ औँ ओभरपछि रिटायर–हर्ट भए।

विनोद भण्डारी (२१), पुनित मेहरा (१३) र अन्तिम क्षणमा धमाकेदार इनिङ खेलेका कप्तान दीपेन्द्र सिंह ऐरी (२४*) तथा आरिफ शेख (२४*) को योगदानमा सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाइ १६९ रन बनायो।
चितवनका बलर सैफ जैबले २ विकेट लिए भने रन्जित कुमार र जर्ज स्मृक्शले १–१ विकेट जोडे।

१७० रनको लक्ष्य पछ्याउँदै उत्रेको चितवन १७.१ ओभरमै १२० रनमा समेटियो। रवि बोपारा (२९), देव खनाल (२८), अर्जुन साउद (१६) र कप्तान कुशल मल्ल (१५) को योगदान जितका लागि अपुग रह्यो।

सुदूरपश्चिमका पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १–१ विकेट थपे।

सुदूरपश्चिम अब अपराजित यात्रासहित एनपीएलको पहिलो क्वालिफायरमा उपाधि होडतर्फ अगाडि बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *