दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गए राति दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गरेको हो ।
दिल्लीको घरेलु मैदान राजीव गान्धी स्टेडियममा टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको थियो । टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनको सामान्य लक्ष्य बनायो । मनिष पान्डे र अक्षर पटेलले सर्वाधिक ३४–३४ रन जोडे ।
कप्तान तथा ओपनर डेभिड वार्नर २१ रनमा आउट भए । मिचेल मार्सले २५ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झना लायक रहेन । हैदराबादका वासिंटन सुन्दरले तीन विकेट झारे ।
जवाफी ब्याटिङ गरेको हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनमा समेटियो । मंयक अग्रवालले ३९ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाए पनि हार टार्न सकेनन् ।
मध्यक्रमका हेनरिच क्लासनले ३१ र वासिंटन शुन्दरले २४ रन बनाए । यी दुईले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै सहज अवस्था सिर्जना गरे पनि १९ औं ओभरको तेस्रो बलमा क्लासन आउट भएपछि हैदराबाद पराजित भएको हो ।
अक्षरले दुई र एन्रिच नोर्टजेले दुई-दुई विकेट लिए । सातौं खेलमा दिल्लीको यो दोस्रो जित हो । हैदराबादको भने पाँचौं हार हो । समान अंक भए पनि दिल्ली तालिकाको पुछारमा छ भने हैदराबाद एक स्थान अघि छ ।




