काठमाडौं । नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स भिड्दैछन् । यो खेल मध्याह्न १२ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
यी दुई टिम जारी प्रतियोगितामा तेस्रो पटक भेट हुन लागेका हुन् । अघिल्ला दुवै भेटमा लुम्बिनीले बाजी मारेको थियो ।
लिग चरणको पहिलो भेटमा तीन रनले जितेको लुम्बिनीले दोस्रो खेलमा १२ रनको जित हात पारेको थियो ।
लुम्बिनीले फाइनलसम्मको यात्रा तय गर्दा १० खेलमा मात्र दुई खेल गुमाएको छ । यता विराटनगरले १० खेल मध्ये पछिल्ला पाँच खेलमा लगातार जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को पहिलो फ्रेन्चाइज प्रतियोगिता लिग चरणदेखि फाइनलसम्म विश्राम थिएन ।




