काठमाडौँ । बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले अब फुटबल नखेल्ने घोषणा गरेका छन् ।
बुधबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा पत्रकार सम्मेलन गर्दै अग्युरोले आफुले १० दिन अगाडी अब फुटबल नखेल्ने निर्णय लिएको जानकारी दिएका हुन् ।
अग्युरोले आफ्नो स्वास्थ्यमा समस्या आएको र चिकित्सकको सल्लाह अनुसार नै आफु फुटबलबाट टाढा हुने निर्णय लिएको बताए । निकै भावुक भएका अगुरोले फुटबलबाट टाढा हुने निर्णय लिन कठिन भएको बताएका थिए । पत्रकार सम्मेलनमा अग्युरोले रुदै आफ्नो भावना व्यक्त गरेका थिए ।
आफु पाँच बर्षको उमेरदेखि फुटबल खेलेको बताउदै आफुले विश्वकै उत्कृष्ट क्लबबाट फुटबल खेलेको बताए । अर्जेन्टिनी टिमबात खेल्नु सधै गर्बको विषय भएको बताउदै अग्युरोले यसक्रममा आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
पत्रकार सम्मेलनमा अग्युरोका परिवारका सदस्य, बार्सिलोनाका खेलाडी, उनको क्लब म्यानचेस्टर सिटीका सहकर्मी, अर्जेन्टिनी टिमका सदस्यहरु र बार्सिलोना क्लबका उच्च अधिकारीहरु उपस्थित थिए ।
ग्युरोको मुटुमा समस्या आएपछि अब मैदान फर्किन नसक्ने भएका हुन् ।गत अक्टोबर ३० मा बार्सिलोनाका लागि आल्भेजविरुद्ध खेल्ने क्रममा श्वासप्रश्वासमा समस्या भएपछि मैदान छोडेका ३३ बर्षिय अग्युरोको मेडिकल टेस्टमा मुटुमा समस्या देखिएको थियो ।
अग्युरो यसै सिजनमा म्यानचेस्टर सिटी छोडेर बार्सिलोना आएका थिए । सिजनको शुरुमा इन्जुरीका कारण खेल्न नसकेका अग्युरोले बार्सिलोनाका लागि केबल ५ खेल खेले भने एक गोल गरेका छन् ।




