काठमाडौं ।काठमाडौँमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार (आज) एक खेल हुँदै छ । लिगको चौथो चरणको खेलअन्तर्गत आज थ्री–स्टार क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ४ः४५ बजे सुरु हुनेछ । यस खेलमा थ्री–स्टार दोस्रो तथा एपिएफ पहिलो जितको खोजीमा हुनेछन् । थ्री–स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो । तेस्रो खेलमा भने उसले फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो ।
हाल थ्री–स्टार आठौँ स्थानमा छ । उसले तीन खेलमा चार अङ्क जोडेको छ । एपिएफले तीन खेल खेल्दा अङ्कक जोड्न सकेको छैन । हाल ऊ पुछारमा छ । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा च्यासल युथसँग १–० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।




