काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी न्यूनीकरण र नागरिकको जीवनस्तर सुधारलाई राज्यको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । उनले उत्पादन वृद्धि, दिगो रोजगारी र पर्याप्त आम्दानीका अवसर सिर्जना नगरी समृद्धिको लक्ष्य हासिल गर्न नसकिने धारणा राखेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले राजनीतिक तथा नीतिगत बहसलाई नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने दिशामा केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनका अनुसार देशको समृद्धि मापन गर्दा आर्थिक वृद्धि मात्रै होइन, नागरिकले आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण भए–नभएको विषयलाई पनि महत्त्व दिनुपर्छ । ‘हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो,’ ओलीले भने । उनले यसका लागि आम्दानीका नयाँ स्रोत पहिचान गर्ने, उत्पादन बढाउने र परिवारको आवश्यकता पूरा गर्न पर्याप्त आम्दानी हुने रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा जोड दिए ।
काम मात्र होइन, आम्दानी पनि पर्याप्त हुनुपर्छ
ओलीले रोजगारीको वास्तविक महत्त्व काममा बिताएको समयले मात्र निर्धारण नगर्ने बताए । कामबाट प्राप्त हुने आम्दानीले नागरिकको जीवनयापन सहज बनाउँछ कि बनाउँदैन भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
‘रोजगारीको मूल्य काम गरेको समयले होइन, त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्छ,’ उनले भने । उनले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको हितमा मात्र सीमित नभई समग्र नेपाली समाजको आर्थिक तथा सामाजिक उत्थानलाई लक्ष्य बनाउनुपर्ने बताए ।
गरिबी उन्मूलनलाई नारामा सीमित नगरी व्यवहारमा उतार्न उत्पादनमुखी अर्थतन्त्र, स्पष्ट नीति र दिगो रोजगारी आवश्यक रहेको उनको भनाइ थियो । नागरिकको आयआर्जन क्षमता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए । ओलीले आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद रहेको उल्लेख गर्दै प्रत्येक नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्था निर्माण गर्नुपर्ने बताए ।
‘हाम्रो मूल दर्शन मानवतावाद हो । प्रत्येक नागरिकले खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।उनले जात, वर्ग वा समुदायका आधारमा विभेद नगरी सबै नागरिकलाई समान महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने धारणा राखे । सत्य, न्याय र समानताको आधारमा अघि बढ्दा मात्रै समाजको समग्र कल्याण र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।
ओलीले प्रत्येक नागरिकलाई गाँस, बास र कपाससँगै गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित राज्यका नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनको भनाइमा गरिबी घटाउने प्रयासलाई प्रभावकारी बनाउन नागरिकको आयस्तर वृद्धि, उत्पादन विस्तार, रोजगारीको गुणस्तर सुधार र आधारभूत सेवामा समान पहुँचलाई एकसाथ अघि बढाउन आवश्यक छ । ओलीले वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा व्यक्त गरेको धारणा आर्थिक तथा सामाजिक नीतिलाई नागरिकको जीवनस्तर सुधारसँग जोड्नुपर्ने विषयमा केन्द्रित थियो ।




