काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूको हत्या योजनाबद्ध र षड्यन्त्रपूर्ण रूपमा गराइएको दाबी गरे।
उनले त्यसै घटनालाई आधार बनाएर भोलिपल्ट देशभर लुटपाट, हिंसा, आगजनी र अराजकता फैलाइएको आरोप लगाए।
अध्यक्ष ओलीले आन्दोलनका क्रममा आफूले गोली नचलाउन र दमन नगर्न निर्देशन दिएको भन्दै गोली कसरी चल्यो भन्ने विषयमा अनुसन्धान आवश्यक रहेको बताए।
उनले विभिन्न अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले घटनामा बाह्य संलग्नताबारे प्रश्न उठाएको दाबी गरे।
ओलीले भने, “हामीले गोली नचलाउन, दमन नगर्न भनेका थियौँ। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ। दमन भयो किन?”
उनले भदौ २४ गते भएको हिंसा र तोडफोड अचानक उत्पन्न भएको नभई त्यसअघि नै त्यसका संकेतहरू देखिएको दाबी गरे। सिंहदरबार र संसद् भवन जलाउने विषय तथा घरहरू जलाइएका तस्बिरहरू घटनाअघि नै सार्वजनिक भएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले केही हजार मानिसलाई अगाडि सारेर निर्वाचनबाट प्राप्त जनादेश र संविधानको व्यवस्थालाई कमजोर पार्ने प्रयास भएको आरोप लगाए। उनले असंवैधानिक ढंगबाट सरकार र प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै त्यसलाई वैधानिकता दिने प्रयास भएको बताए।
उनले घटनाको छानबिनका लागि बनाइएका आयोग तथा अनुसन्धान प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरे। प्राप्त नतिजा सार्वजनिक गर्न डराइएको वा निष्कर्षप्रति पर्याप्त स्पष्टता नदेखाइएको उनको आरोप थियो।
अध्यक्ष ओलीले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको बताएका छन्।




