देश

सदस्यता अद्यावधिकमा कांग्रेस कडाइ, निष्क्रिय नेतालाई जिम्मेवारी नदिने गगन थापाको चेतावनी

काठमाडौं । गगन थापा ले पार्टी संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सदस्यता अद्यावधिक अभियानमा कुनै सम्झौता नगर्ने बताएका छन् । बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता कायम राख्दै संगठन मजबुत बनाउने प्रयास भइरहेको उल्लेख गरे । तर, क्रियाशील सदस्यता नवीकरणको काममा अवरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले जिम्मेवारीमा बसेका नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिकको काम नगरे उनीहरूको अधिकार खोस्न सकिने चेतावनी दिए । पार्टी विधानअनुसार जिम्मेवारी पाएका व्यक्तिले आफ्नो दायित्व पूरा गर्नैपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस भित्र बाहिर रहेका नेताहरूलाई समेत एकताबद्ध भएर काम गर्न आग्रह गर्दै थापाले केन्द्रीय समितिबाहिर रहेका नेताहरूलाई पार्टीभित्रै फर्किएर सहकार्य गर्न आह्वान गरे ।

उनले पार्टीको विधानअनुसार प्रत्येक वर्ष क्रियाशील सदस्यको नवीकरण हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै विगतमा विभिन्न बहानामा विधानका प्रावधान निलम्बन गरिँदै आएको बताए । थापाले पार्टी सदस्यको संख्या मात्र बढाउने होइन, सक्रिय र व्यवस्थित सदस्यता प्रणाली निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे । उनका अनुसार सदस्यहरूको स्पष्ट अभिलेख राखेर संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्य कांग्रेसले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *