काठमाडौँ । थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर परिचालन गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत बस्ती हटाउन डोजर तैनाथ गरिएको हो ।
डोजर पुगेपछि नेपाल प्रहरीले बस्तीभित्र प्रवेश गरी घरघरमा पुगेर माइकिङ गर्दै खाली गर्न आग्रह गरिरहेको छ । सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरी परिचालन गरिएको छ भने डोजर स्ट्यान्डबाइ राखिएको छ ।
सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार आज पहिले थापाथली र त्यसपछि गैरीगाउँ क्षेत्रका सुकुमवासी बस्ती हटाउने तयारी गरिएको छ ।




