काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ। बैठक अब बिहान ८ बजे पुनः बस्ने गरी टुंग्याइएको सहमहामन्त्री डिला संग्रौलाले जानकारी दिएकी छन्। बैठकमा सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मामार्फत पेश गरेको राजीनामापत्र मुख्य एजेन्डाका रूपमा प्रस्तुत भएको थियो। सो विषयमा अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएका छन्।
यसैगरी, उपसभापति शर्माले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको हारको कारण विश्लेषण गर्दै प्रारम्भिक समीक्षा प्रतिवेदन पेश गरेका थिए। बैठकमा सोही प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल भएको बताइएको छ। नेताहरूका अनुसार राजीनामा र चुनावी समीक्षा दुवै विषयमा थप गहन छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको हो। अबको बैठकमा यी विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।




