काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको हारको प्रारम्भिक समीक्षा सुरु गरेको छ। आज केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १३ पृष्ठ लामो प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गर्दै हारको कारणमा पार्टीभित्रको चरम गुटबन्दी र वितृष्णालाई औंल्याएका छन्।
शर्माले भने, “लोकतन्त्रमा फरक मतलाई सम्मान गर्नु पर्छ, तर पार्टीभित्र कतिपय बेला जायज प्रश्नलाई नजरअन्दाज गरियो। फरक मतको नाममा गुटबन्दीको अभ्यास चर्कै भयो। विचार होइन, व्यक्तिलाई केन्द्रमा राख्दा इमान्दार सदस्यहरू आजित भए, र नागरिकमा पनि वितृष्णा बढ्यो।”
समीक्षा प्रतिवेदनमा उल्लेख छ कि प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ३८ सिट मात्र जितेको थियो। यस हारले पार्टीभित्र आन्तरिक विभाजन र रणनीतिक कमजोरीलाई स्पष्ट रूपमा देखाएको छ।यसैबीच, कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशनले केही राहत दिएको तर्क गरेका छन्। उनका अनुसार महाधिवेशनले नयाँ नेतृत्व र कार्यकर्तामाझ उत्साह पैदा गरेकाले पार्टी दोस्रो भएको हो, नभए परिणाम अझ कमजोर हुनसक्थ्यो।
केसीले भने, “कसैले दोष दिने भन्दा सबै मिलेर अघि बढ्नु पर्छ। केन्द्रीय समितिले मिलाएर जाने वातावरण बनाउन आवश्यक छ। म संसदीय दलको नेता भए पनि नभए पनि पार्टी र देशको हितमा बोलिरहनेछु।”विश्लेषकहरूका अनुसार, कांग्रेसभित्रको गुटबन्दी र वितृष्णाले न केवल निर्वाचनमा प्रभाव पारेको छ, तर नागरिक र समर्थकमा असन्तोष बढाएको छ। अब पार्टीका लागि चुनौती भनेको आन्तरिक एकता कायम राख्दै आधुनिक रणनीति र प्रचार–प्रसार सुधार गर्नु हो।
कांग्रेस बैठकमा प्रस्तावः उपसभापति शर्माद्धारा गगन थापाको राजीनामा अस्वीकृत गर्न सिफारिस




